काठमाडौँका सुरक्षा सम्वेदनशील क्षेत्रबाहेकका ठाउँमा निषेधाज्ञा र कर्फ्यु हटाइएको छ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले शनिबार बिहान सूचना जारी गर्दै आज बिहानदेखि काठमाडौँमा निषेधाज्ञा र कर्फ्यु हटाइएको जानकारी दिएका हुन्।
निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन शनिबार बिहानदेखि सामान्य बन्न थालेको छ। काठमाडौँमा सार्वजनिक यातायातका साधन चल्न थालेका छन् भने बजार पनि खुल्न थालेको छ।
जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरेका थिए।
जेनजी आन्दोलनको भावनाअनुसार गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्य उन्मुख बन्न थालेको हो।

Shares

प्रतिक्रिया