समाज


काभ्रेका सहकारीको रकम अपचलन गर्ने २६ पक्राउ, ६७ जना फरार

काभ्रेका सहकारीको रकम अपचलन गर्ने २६ पक्राउ, ६७ जना फरार

नेपालखबर
असोज ४, २०८२ शनिबार ८:४९, काभ्रे

काभ्रेका सहकारीको रकम अपचलन अभियोग लागेकामध्ये २६ जना पक्राउ परेका छन् भने ६७ जना सहकारी सञ्चालक अझै फरारको सूचीमा छन्। विभिन्न सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको अभियोगमा हालसम्म २६ जना सञ्चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठगीविरुद्ध जाहेरी परेका थप तीन सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेस भएको छ । यसअघि पेस भएकामा बनेपाको पुण्यश्वरी सहकारीको रु तीन करोड ८० लाख ९३ हजार ४१८ बचत फिर्ता नभएको निवेदनकर्ताको दाबी छ भने गरुड सहकारीको रु १४ करोडभन्दा बढी बचत फिर्ता नभएको जाहेरीमा उल्लेख गरिएको छ ।

जाहेरीका आधारमा अनुसन्धान सम्पन्न भई अदालतमा पेस भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मुद्दा दर्ता भएका आठ सहकारीका ९९ सञ्चालकविरुद्ध ठगीमा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कोमल शाहका अनुसार युनिटी सहकारीको रु तीन करोड ५० लाखभन्दा बढी बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ। यस्तै बाँकी पाँच सहकारीको अनुसन्धान जारी रहेको जनाउँदै उनले जिल्लाका सात सहकारीका सञ्चालकलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको बताए। थप केही सहकारीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गर्ने गरी अनुसन्धान भइरहेको छ।

हालै बनेपा नगरपालिका–८ सिनागाल मार्गमा केन्द्रीय कार्यालय रहेको अग्नि बचत तथा ऋण सहकारी संस्थाबाट रु २४ करोड ९७ लाख पाँच हजार ९७७ ठगी गरेको भन्दै सञ्चालकसहित ३३ जनाविरुद्ध मुद्दा दायर भएको छ।

दुई सय चार बचतकर्ताको उजुरीका आधारमा गरिएको अनुसन्धानपछि प्रहरीले कागजपत्रसहित जिल्ला सरकारी वकिलको कार्यालय तथा सरकारी वकिलको तर्फबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम गत भदौ २९ मा जिल्ला अदालत काभ्रेपलान्चोकमा ३३ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो। मुद्दा दायर भएका ३३ मध्ये प्रहरीले हालसम्म छ जनालाई पक्राउ गरी अदालतमा पेस गरिसकेको प्रहरी उपरीक्षक शाहले बताए। उनका अनुसार फरार अन्यको खोजी कार्य भइरहेको छ।

पक्राउ पर्नेमा अग्नि सहकारीका अध्यक्ष ललितपुर महानगरपालिका–१३ जावलाखेलका रवीन्द्र श्रेष्ठ, सचिव बनेपा–१ नालाका सन्तोष पाण्डे, सञ्चालक समिति सदस्य बनेपा–७ का दिनेश वैद्य, व्यवस्थापक बनेपा–७ का राहुल चौ प्रधान, ऋण अधिकृत विकास गौतम र उक्त सहकारी तथा स्थानीयसँग बिचौलियाको काम गर्ने प्रकाश गौडेल रहेका उनले जानकारी दिए।

कार्यालयका अनुसार उक्त सहकारी ठगी गरी २७ जना फरार रहेका अदालतमा पेस गरिएको विवरणमा उल्लेख गरिएको छ । विसं २०८१ साउन ३१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उक्त सहकारी ठगीमा संलग्नलाई अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय धुलिखेललाई पत्राचार गरिएको थियो।

विसं २०८१ मङ्सिरमा सहकारी कार्यालयसमेत बन्द गरी सम्पर्कविहीन भएका जनाउँदै बचतकर्ताले नीजहरूविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका हुन्। सहकारी ठगीबारे पछिल्लो वर्षदेखि प्रहरीमा उजुरी तथा जाहेरी आउने क्रम बढेको प्रहरी उपरीक्षक शाहले उल्लेख गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad