सुर्खेतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा भाइको मृत्यु भएको छ भने दाइ गम्भीर घाइते भएका छन्। दसैँ मनाउन अछाम जाँदै गरेका दाजुभाइ सवार मोटरसाइकलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
रत्न राजमार्ग अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकामा दुर्घटना भएको हो। छिन्चु–धुलियाविट सडक खण्डको पाडुलेमा ट्रकले मोटरसाइकललाई ठक्करदिँदा बाँकेको कोहलपुर नगरपालिका–२ प्रेमनगर घर भएका अन्दाजी १८ वर्षीय ऋतिक शाहीको मृत्यु भएको हो। उनले चलाएको लुम्बिनी प्रदेश ०३–००१ प ३६३१ नम्बरको मोटरसाइकललाई ना ५ ख ५६०८ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार ऋतिकको उपचारको क्रममा प्रादेशिक अस्पताल कालागाउँमा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलकाे पछाडी सवार अछामको पञ्चदेवल नगरपालिका–४ का १९ वर्षीय दमन शाही गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।
दमन र ऋतिक काका र ठूला बुवाका छोराहरू हुन्। नातामा ऋतिक भाइ हुन् भने दमन दाइ हुन्। पुर्खेउली घर अछाम भए पनि उनीहरूको घर बाँकेको कोहलपुरमा पनि छ।
घाइते दमनका बुबा अमर शाहीले दुई भाई (ऋतिक र दमन) दसैँका लागि पुर्खेउली घर अछाम आउँदै गर्दा उर्घटनामा परेको नेपालखबरलाई जानकारी दिए। अमर शाही शिक्षक पेसामा कार्यरत छन्। उनी गाउँकै एक विद्यालयमा पढाउँछन्।
अमरले दसैँको समयमा सबै परिवार अछामको घरमा जम्मा भएर चाडपर्व मनाउने गरेको बताए। सोही अनुसार अमरका कोहलपुरमा बसेका छोराहरुलाई मोटरसाइकलमा गाउँ फर्किदै थिए।
घाइते दमनलाई प्रदेश अस्पताल कालागाउँमा सामान्य उपचारपछि थप उपचारका लागि सोमबार राति नै भारतको लखनउ रेफर गरिएको छ। उनको दुईवटै खुट्टा, टाउँको र हातमा गम्भीर चोट लागेको उनका बुवा अमरले जानकारी दिए।
यस्तै, मृतक ऋतिकको शव पोष्टर्माटमका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ भने आफन्तहरु अस्पताल पुगिसकेका छन्। कागजी प्रक्रिया टुंगाएर अन्त्येष्टिका लागि शव लगिने अमरले बताए।
प्रहरीले मोटरसाइकलाई ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जनाएको छ।
Shares

प्रतिक्रिया