समाज


जन्मेको ११ वर्षपछि आँखा प्रत्यारोपणबाट संसार देखेका सविन: स्नातकसम्म पढे, अहिले भन्छन्- धेरै कमाउन विदेश जान्छु

जन्मेको ११ वर्षपछि आँखा प्रत्यारोपणबाट संसार देखेका सविन: स्नातकसम्म पढे, अहिले भन्छन्- धेरै कमाउन विदेश जान्छु

आयुषा ढकाल
असोज ८, २०८२ बुधबार १३:४९, काठमाडौँ

अस्पतालबाट फोन आयो- तुरुन्तै आउनुहोस्, भोलि नै आँखाको नानी प्रत्यारोपण गर्नुपर्छ।

जन्मसिद्ध दृष्‍टिविहीन रहेका सविन बोगटी त्यतिखेर ७ वर्षका थिए। उनका आँखासामु त अन्धकार थियो नै, भविष्य के हुन्छ भन्नेमा परिवारभरिमै तनाव थियो। 

उपचारका लागि उपलब्ध भएसम्मका सबै उपाय लगाइसकिएको थियो। दृष्टि फर्किने कुरामा परिवारले पूरै आस मारिसकेको थियो।
सेतीदोभान, स्याङ्जाका सविनका लागि तिलगंगा आँखा अस्पतालबाट आएको त्यही फोन एउटा आशाको दियो बनेर आयो।

सविन दृष्‍टिविहीन छन् भन्‍ने शंका पहिले मामाघरकी हजुरआमालाई भएको थियो। तर अरूले भने पत्याइरहेका थिएनन्। कसैले धेरै चकचक गर्ने भन्दै सविनलाई दोषी देखाइरहेका थिए। कसैले लडेको हुनाले आँखा राम्रोसँग नदेखेको भन्थे।

समय बित्दै जाँदा आँखामा केही समस्या छ भन्‍ने उनको परिवारलाई पनि लाग्यो।

त्यसपछि सविनको पोखराको हिमालय आँखा अस्पताल, घारीपाटनमा जाँच गराइयो। त्यहाँ हजुरआमाको शंका सही निस्कियो। हिमालय अस्पतालले उपचार हुन नसक्ने भनेर त्रिभुवन शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौँ जान सुझाव दियो।

५ वर्षीय सविनलाई २०५८ सालमा शिक्षण अस्पताल, महाराजगन्ज ल्याइयो। २ वर्षसम्म शिक्षण अस्पताल धाउँदा पनि उनको आँखामा कुनै बदलाव आएन। अनि शिक्षण अस्पतालले पनि हात उठायो।

कहिले कुन अस्पताल, त कहिले कुन। जता लगे पनि सविनको उपचार हुन सकेन।

बाहिरी दुनियाँ अन्धकार भएपछि उनी जसले जहाँ लगिदियो, त्यहीँ बस्थे। प्रायः गीत सुनेर नै उनको दिन बित्थ्यो। अँध्यारो संसारमा संगीत मात्र उनको मिल्ने साथी बन्यो।

२०६० सालमा सविनलाई तिलगंगा आँखा अस्पताल लगियो। त्यहाँ भने चिकित्सकहरूले आशा देखाउँदै भने, आँखा देख्‍न सक्ने सम्भावना धेरै ।

उनको परिवारमा मरिसकेको आशा फेरि पलायो।

तर, उनको दृष्टि फर्काउन अरू कसैको आँखाको नानी चाहिने भयो। जीवित व्यक्तिको आँखा प्रत्यारोपण गर्न मिल्दैनथ्यो। मृतकको खोज्नुपर्ने भयो। त्यसैले भन्‍नेबित्तिकै नानी पाउने सम्भावना थियो।

करिब ३ वर्षपछि आचानक एक दिन बोगटीको गाउँको टेलिफोनमा अस्पतालबाट फोन आयो। त्यो त्यही फोन थियो, जुन उनको जिन्दगीमै कायापलट ल्याउने कोशेढुंगा बनिदियो।

टेलिफोनबाट प्राप्त सन्देश थियो, ‘सविनको लागि एउटा आँखा पाइएको छ। भोलि नै आँखा प्रत्यारोपण गर्नुपर्छ। तुरुन्तै आउनुहोस्।’ 

यो सुनेपछि कताकता सविनलाई ‘मैले पनि आँखा देख्‍न सक्छु’ भन्‍ने आशा पलायो।  तर सविनकी आमालाई भने प्रत्यारोपणपछि पनि आँखा देखेन भने के गर्ने, अरू समस्या पनि आउने हो कि भन्‍ने चिन्ताले सताइरहेको थियो।

डक्टरहरूले पहिले नै भनेका थिए, आँखा प्रत्यारोपण गर्दा पनि शत् प्रतिशत देख्‍ने सम्भावना भने हुँदैन। कारण, हरेकको शरीरले अरूको आँखालाई स्वीकार गर्न सक्दैन। तर सविन भने ‘यसै पनि आँखा नदेख्‍ने, उपचार गर्दा के नै हुन्छ र? एक पटक कोसिस गरौँ’ भन्ने पक्षमा थिए।

बिहीबारको दिन थियो त्यो। रात्रिबसमा आमासँग काठमाडौँ आए सविन, एउटा नयाँ उत्साह बोकेर।

सविन आँखा देख्ने भएपछि सबैभन्दा पहिला आफैँलाई देख्‍न चाहन्थे। 

‘म कस्तो छु होला? के म सधैँ आँखा नदेख्‍ने नै होला त?’ यी र यस्तै कल्पनाहरू मनभरि खेलाउँदै।

काठमाडौँ जति नजिकिँदै थियो, उनलाई आँखा देख्‍ने रहर उति नै बढ्दै थियो।

२०६३ साउन २३ गते। शुक्रबार। नभन्दै सविनको दाहिने आँखामा नानी प्रत्यारोपण भयो। शनिबार बिदाको दिन भएकाले सविनको आँखाको पट्टि खोलिएन।

२०६३ साउन २५ गते आइतबार सविनको आँखाबाट पट्टि खोलियो, जतिबेला डा सन्दुक रुइत, रिता गुरुङ र सविनकी आमा सामुन्नेमा थिए। ११ वर्षको उमेरमा उनले पहिलोपल्ट उज्यालो देखे। आफूलाई जन्म दिने आमा देखे।

अर्थात्, उनको जीवनका लागि तीन महान् व्यक्तिका सामु पहिलोपटक सविनले यो संसार देखे। जन्मिएको यतिका वर्षपछि यो संसार देखे। यो नै अहिलेसम्म सविन सबैभन्दा भावुक भएको क्षण हो।

माछेलाई एक छिन अँध्यारोमा बसेर अचानक उज्यालोमा हेर्दा त आँखा हेर्न कति गाह्रो हुन्छ भने सविनले त एघार वर्षमा पहिलोपटक आँखा देखेका थिए। उनलाई उज्यालोमा आँखा हेर्दा आँसु आउँथ्यो। 

सविनलाई एक महिना जति त सिधै घाममा हेर्न गाह्रो भयो। चस्माको प्रयोग गरे। पछि विस्तारै उज्यालोमा हेर्ने बानी पर्‍यो।

अचम्मको कुरा त यो थियो कि, सविनको आँखा प्रत्यारोपणको केही समयपछि उनका भाइको पनि आँखा जाँच गराउँदा पनि दृष्‍टिविहीन रहेको थाहा पाइयो। 

एउटा छोरा आँखा देख्‍ने भयो भनेर चिन्तामुक्त आमाबुवालाई फेरि चिन्ताले सताउन थाल्यो। तर, जति सविनले भोगेको अन्धकारमा आमाबुवा चिन्तित थिए, भाइको समस्याले धेरै चिन्ता लिनुपरेन। भाइको पनि तिलगंगा अस्पतालमै सफलतापूर्वक आँखा प्रत्यारोपण भयो। 

सविनले आँखा देख्‍ने भएपछि उनको परिवार र आफन्तजनमा खुसीको सीमा नै रहेन। एघार वर्षको उमेरमा बल्ल पढ्न पाउने भए। 

११ वर्षमा १ कक्षामा भर्ना भए। साथीहरूसँग नयाँ ढंगले चिनजान हुन थाल्यो। घुलमिल बढ्दै गयो। हरेक चिज चिन्‍नको लागि पनि केही समय लागेको र सुरूमा अफ्ठ्यारो पनि भएको उनी सुनाउँछन्।

पहिले आँखा नदेख्‍दा सबैले ‘विचरा’को नजरले हेर्थे। पछि कक्षा १ मा पढ्दा ५ मा पढ्ने बराबरको उमेरका हुँदा पनि सहपाठीहरूले उनलाई जिस्क्याउँथे। ‘तर शिक्षकहरूले ढाडस दिनुहुन्थ्यो, तिमीले मिहेनत गर्नुपर्छ भनेर सम्झाउने र हौसला दिने गर्नुहन्थ्यो,’ सविन भन्छन्।

दाहिने आँखा प्रत्यारोपण गरेको तीन वर्षपछि २०६७ मा उनको देब्रे आँखा पनि प्रत्यारोपण भयो। तर, देब्रे आँखा फुटबल खेल्दा बलले लागेर बिग्रियो। फेरि प्रत्यारोपण भयो। 

सविनले १२ कक्षासम्म पढे। बीबीएस पढ्दापढ्दै कामतिर मोडिए। निर्माण र आपूर्तिसम्बन्धी व्यवसाय गरेका उनी अब भने विदेश जाने सोचमा छन्।

‘नेपालमा धेरैथरी काम गरियो। अब विदेशको पनि अनुभव लिनुपर्छ,’ उनी भन्छन्, विदेशको कमाइ पनि राम्रो होला।’

अब उनको सम्पूर्ण परिवारले आँखा दान गर्ने भएका छन्।

सविन भन्छन्, ‘त्यति बेला मानिसहरूको मनःस्थिति अहिले मृतकको आँखा निकालेर दियो भने अर्को जन्ममा दृष्‍टिविहीन भएर जन्म लिनुपर्छ भन्‍ने थियो। जसले गर्दा निकै कम मान्छेले आँखा दान गर्थे। अहिले भने चेतना आएको छ, आँखा दान पनि पुण्यको काम हो भनेर।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad