सडक डिभिजन कार्यालय भरतपुरले एकैपटक धेरै उपकरण चलाउने ठाउँ नहुँदा तुइनखोलाको पहिरो पन्छाउन समय लाग्ने देखिएको जनाएको छ।
पटकपटक ठूलो पहिरो खस्दा मुग्लिन-नारायणघाट सडकमा गएको एक सातादेखि गाडी चल्न सकेका छन्।
तीन दिन लगाएर पहिरो पन्छाएको ठाउँमा गएको मंगलबार झन् ठूलो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध छ।
दसैँसहितका चाडपर्वको संघारमा राजधानी काठमाडौँ आवात जावत गर्ने मुख्य सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्।
हिजो साँझ पहिरो गएको क्षेत्रमा ठूलो वर्षा हुँदा गएराति अबेरसम्म पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
आज बिहान साढे पाँच बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ। त्यसका लागि नारायणगढ र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भैरहेको छन्।
तर, पहिरो गएको क्षेत्र साँघुरो भएको कारण धरै उपकरणहरू एकैपटक संचालन गर्न नसक्दा पहिरो पन्छाउन समय लाग्ने देखिएको पनि कार्यालयले जनाएको छ।
‘पहिरो पन्छाएर सडकमा आवागमन पूर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारिधनी एवं यात्रुमहानुभावहरूलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौँ,’ बिहीबार बिहान सडक डिभिजन कार्यालय भरतपुरले जारी गरेको सूचनामा भनिएको छ।
Shares

प्रतिक्रिया