बडादसैँको नवौँ दिन बुधबार (असोज १५) नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।
दसैँ सुरु भएसँगै पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडकमा आज भने निर्बाध रूपमा सवारीसाधन सञ्चालनमा छन् । हिजोअस्तिको तुलनामा सवारीसाधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
उनका अनुसार, दसैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएका र यात्रुलाई कुनै पनि समस्या हुन नदिने गरी काम गरिरहेका छन् ।
मंगलबार (असोज १४) साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाएर बेलुका ८ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालनमा ल्याइएको थियो ।
गए रातिसम्म सवारीसाधनको चाप भए पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ । तुइन खोलामा पटक–पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् । रासस
Shares

प्रतिक्रिया