समाज


‘सुरक्षाकर्मीको आँखा सुरक्षित हुँदा नागरिकको पनि सुरक्षा हुन्छ’

‘सुरक्षाकर्मीको आँखा सुरक्षित हुँदा नागरिकको पनि सुरक्षा हुन्छ’

नेपालखबर
असोज २३, २०८२ बिहिबार १५:५१, काठमाडौँ

विश्व दृष्टि दिवसका अवसरमा सुरक्षाकर्मीको निः शुल्क आँखा परीक्षण गरिएको छ। नेपाल नेत्रज्योति सङ्घले आफ्ना देशभर रहेका अस्पताल, उपचार केन्द्र तथा सञ्चाल मार्फत् सो सेवा प्रदान गरेको हो।  

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले यस वर्षको विश्व दृष्टि दिवसका अवसरमा नागरिक सेवामा अहोरात्र खटिने प्रहरीहरुको आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर देशभरका सञ्जाल मार्फत् निःशुल्क आँखा परीक्षण गरिएको जानकारी दिए।  

संघका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घद्वारा देशभरमा सञ्चालित २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रहरुले स्थानीय प्रहरी कार्यालयहरुसँगको समन्वयमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिरहेका छन्। 

उनले भने, ‘हामीलाई प्रहरीले सुरक्षा दिएकै कारण ढुक्कले बस्न सकिरहेका छौँ। हाम्रो सुरक्षामा खटिने उहाँहरुको दृष्टि सुरक्षित हुँदा हाम्रो पनि सुरक्षा हुन्छ। यसैले यस पटक प्रहरीहरुको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्वदृष्टि मनाइ रहेका छौँ।’

संघका अध्यक्ष प्राडा चेतराज पन्तले सर्वजनिक स्थलका सडक, धुवा, धुलो र प्रत्यक्ष प्रकाशको किरणमा काम गर्ने प्रहरीहरूमा आँखाको समस्या देखिने जोखिम बढी हुने भएकोले उनीहरूको आँखाको सुरक्षाका लागि आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको बताए। 

उनले भने, ‘नेपाल प्रहरी अग्रभागमा रहेर आम जनतासँग जोडिएको हुन्छ। यदि हामीले उहाँहरूलाई आँखा स्वास्थ्यको महत्व र आवश्यकता राम्रोसँग बुझाउन सक्यो भने त्यो सन्देश छिट्टै आम जनमानसमा पुग्ने भएकाले पनि यो पटकको विश्व दृष्टि दिवसमा हामिले प्रहरी केन्द्रित आँखा जाँच कार्यक्रम संचालन गर्यौं।’

सन् १९९८ को अक्टोवर ८ गतेदेखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठनले संयुक्त रुपमा मनाउन सुरु गरेका थिए। विश्वदृष्टि दिवसले विश्वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनसाधारणसम्म सूचना र जानकारीहरू प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने कार्यमा सरोकारवाला सबैलाई अझ बढि प्रेरित र प्रोत्साहित गर्ने गरिन्छ। 

यस दिवसको उद्देश्य विश्वकै प्रमुख स्वास्थ्य समस्याको रुपमा मानिएको पूर्ण वा आंशिक दृष्टिविहीनता तथा दृष्टिदोषको न्यूनीकरणका लागि सबै सरोकारवालाहरू (संघीय, प्रदेश तथा स्थानीय सरकार, तथा आँखा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरु) लाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा अझ बढी एकतावद्ध र संगठित भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नु रहेको छ।

साथै लक्षित वर्गलाई अन्धोपन निवारण कार्यक्रम तथा यसका क्रियाकलापहरूका बारेमा सचेतना अभिबृद्धि गराई अन्धोपनविरुद्धको कार्यक्रममा व्यापक जनसहयोग र समर्थन प्राप्त गर्न अभिप्रेरित गर्नु रहेको छ।

विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरू प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आईएपीबी) ले संयुक्त रुपमा यो दिवस मनाउन सुरुआत गरेका थिए। यस वर्ष ‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर विश्व दृष्टि दिवस मनाइँदैछ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad