हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यही असोज २४ गते अर्थात् अक्टोबर १० तारिखका मनसुन नेपालबाट बाहिरिएयता आज असोज २६ गतेसम्म कुनै उल्लेखनीय मौसम प्रणाली नदेखिएको हो।
त्यसो त मनसुन बाहिरिएपछि नेपालमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुन्छ। तर हाललाई भने तिनको प्रभाव पनि उल्लेखनीय रूपमा नदेखिएको हो।
मौसम महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मुख्यतया सफा रहने छ। कोसी प्रदेशका पहाड भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना छ।
आज राति : कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाड भेगमा आंशिक बदली रही देशका बाँकी ठाउँमा मुख्यतया सफा रहने छ।
मनसुन बाहिरिएयता नेपालमा पोस्ट-मनसुन सिजन सुरु भएको मौसमविद्ले बताएका छ। हाल देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।
मौसमविद्का अनुसार पोस्ट-मनसुन लाग्नु भनेको मौसम हिउँदतर्फ ढल्किनु हो। यो सिजन यही अक्टोबर र नोभेम्बर महिनासम्म रहन्छ। डिसेम्बरदेखि भने पूर्ण रूपमा हिउँदयाम अर्थात् विन्टर सिजन लाग्छ।
‘विन्टर’ ३ महिना- डिसेम्बर, जनवरी र फेब्रुअरीसम्म रहन्छ। त्यसपछि प्रि-मनसुन सुरु हुन्छ र यो पनि ३ महिना- मार्च, अप्रिल र मेसम्म रहन्छ। प्रि-मनसुन सकिएपछि फेरि मनसुन सुरु हुन्छ।
Shares

प्रतिक्रिया