समाज


इजरायली सूचना मेल खाएन, नेपालले यकिन गरोस्– विपिनको हत्या कोबाट भयो

इजरायलले दुई वर्षअघि नै संकलन गरिसकेको थियो विपिनका परिवारको ‘डिएनए’
इजरायली सूचना मेल खाएन, नेपालले यकिन गरोस्– विपिनको हत्या कोबाट भयो

सीताराम बराल
असोज २९, २०८२ बुधबार २२:१३, काठमाडौँ

प्यालेष्टिनी अतिवादी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको यकिन स्थिति सोमबार (२७ असोज) दिउँसोसम्म पनि यकिन थिएन। परराष्ट्र मन्त्रालयको सोमबार साँझको विज्ञप्तीमा समेत ‘विपिनको स्थिति अज्ञात रहेको’ उल्लेख थियो।

अर्थात् इजरायलले त्यतिबेलासम्म न विपिन जीवित रहेको यकिन गरेको थियो, न त उनको मृत्यु भइसकेको जानकारी नै नेपाल सरकार वा परिवारका सदस्यलाई गराएको थियो।  तर, सोमबार दिउँसो २० जना जीवित इजरायली बन्धकहरू अन्तर्राष्ट्रिय रेडक्रसमार्फत् हस्तान्तरण गरेको हमासले साँझपख ४ मृतकको शवपनि हस्तान्तरण गर्यो।

त्यसअघि इजरायलले हमासको कब्जामा रहेका ४८ मध्ये २८ बन्धकको मृत्यु भइसकेको विश्लेषण गर्दै आएको थियो। बुझाइएका ४ मध्ये तीन शव २८ मध्येकै थिए। बाँकी एउटा विपिन जोशीको थियो, जसलाई इजरायलले ‘२८ मृतक’ को सूचीको साटो ‘स्थिति पत्ता नलागेको’ अर्थात् अज्ञात सूचीमा समेटेको थियो।

तर, ‘अज्ञात’ को सूचीमा रहेकाले जीवितै होलान् भन्ने आशा गरिएका विपिनको शव पो हमासले हस्तान्तरण गर्यो। प्राप्त भएलगत्तै प्रारम्भिक परीक्षण गरेपछि इजरायलले त्यो शव विपिनकै भएको पुष्टि गरिसकेको छ र नेपाल पठाउने प्रबन्ध सुरु गरेको छ।

प्राप्त भएका मृतकहरुको शव सम्बन्धित व्यक्तिको हो–होइन, यकिन गर्नका लागि डिएनए परीक्षण गर्नुपर्ने हुन्छ। यस्तो परीक्षणका लागि मृतकका परिवारको ‘डिएनए’  नमूना र सम्बन्धित व्यक्तिको शवको डिएनए भिडाइन्छ। दुबै डिएनएमा समानता देखियो भने मात्र त्यो शव सम्बन्धित व्यक्तिको हो भन्ने पुष्टि हुन्छ।

तर, हमासले सोमबार साँझ अन्तर्राष्ट्रिय रेडक्रसमार्फत् बुझाएको शव विपिन जोशीकै हो भन्ने इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले मंगलबार (२८ असोज) बिहानै यकिन  गरिसकेको थियो। विपिनका बुबा महानन्द नेपाल (कन्चनपुर) र आमा पद्मा एवं वहिनी पुष्पा अमेरिकाको नर्थ क्यारोलिनामा थिए।

प्रश्न उठ्छ, यस्तो स्थितिमा परिवारको ‘डिएनए’ नमूना लिएर ‘आइडिएफ’ ले त्यति छिट्टै शव विपिनकै हो भन्ने कसरी पहिचान गर्यो होला?

पहिल्यै लिइएको थियो ‘डिएनए’ नमूना
इजरायलले विपिनका परिवारको ‘डिएनए’ दुई वर्षअघि नै संकलन गरिसकेको थियो।

‘विपिनका परिवारका अन्य सदस्यको डिएनए पहिले नै संकलन भइसकेको रहेछ, त्यसैले शव प्राप्त हुनासाथ त्यसको परीक्षण गर्न सजिलो भयो र तत्काल त्यो शव विपिनकै हो भन्ने पुष्टि भयो’, स्रोतले भन्यो, ‘त्यो नहुँदो हो त यति छिट्टै शव विपिनको हो भन्ने पुष्टि हुने थिएन।’

इजरायलमाथि हमासले २० असोज २०८० मा गरेको आक्रमणका क्रममा दक्षिणी क्षेत्रमा पर्ने किबुज क्षेत्रबाट विपिन अपहरणमा परेका थिए। विपिनजस्तै ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका अन्य १० नेपाली विद्यार्थीहरूको मृत्यु भएको थियो। मृत्यु भएका विद्यार्थीका शवहरू यकिन गरेर केही दिनपछि नै इजरायलले सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको थियो।

‘त्यही बेला शवहरूको पहिचानका लागि सम्बन्धित परिवारका सदस्यहरूको डिएनए नमूना लिइएको थियो, विपिन त्यो बेला मृत्यु हुनेहरूको सूचिमा थिएनन्,’ स्रोतले भन्यो, ‘तैपनि उनका परिवारका सदस्यहरूको समेत डिएनए नमूना लिएर इजरायल पठाइएको थियो, जुन नमूना शव प्राप्त हुनेबित्तिकै त्यो शव विपिनकै हो–होइन, परीक्षणका लागि उपयोगी बन्यो।’

जहाँसम्म विपिनको मृत्यु कसरी भयो भन्ने छ, यस सन्दर्भमा उनलाई बन्धक बनाएको हमासले केही उल्लेख गरेको छैन। बन्धक छुटाउने क्रममा हमासविरुद्ध गाजामा आक्रमण सुरु गरेको इजरायली डिफेन्स फोर्स (आइडिएफ– अर्थात् इजरायली सेना) ले मंगलबार सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत्  गरेको दावी अनुसार, किबुज अलुमिमस्थित सेल्टरबाट अपहरित विपिनको हत्या युद्धको पहिलो महिना अर्थात् २०२५ को अक्टोबर–नोभेम्बर (अर्थात् २०८० असोज–कार्तिक) भित्रै भएको थियो।

मृत्युबारे अन्तिम जानकारी भने ‘नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को परीक्षणपछि हुने पनि ‘आइडिएफ’ ले उल्लेख गरेको छ।

इजरायली परराष्ट्र मन्त्रालयले उल्लेख गरे अनुसार, विपिनको मृत्युबारे जानकारी दिन मंगलबार (२८ असोज) परराष्ट्र सचिव अमृत बहादुर राईलाई फोन गरिएको थियो। त्यसक्रममा इजरायली परराष्ट्र मन्त्रालयका डाइरेक्टर जनरल इदेन बार–तालले बन्दी अवस्थामै ‘विपिनको क्रुरतापूर्वक हत्या भएको’ उल्लेख गर्दै इजरायली जनताको तर्फबाट समवेदना प्रकट गरेका थिए।

इजरायली सेना र परराष्ट्र मन्त्रालयले ‘विपिनको हत्या हमासद्वारा बन्दी अवस्थामा भएको’ भनी गरेको दावीप्रति नेपालले प्रष्ट प्रतिक्रिया जनाएको छैन। तर, विपिनको मृत्युको कारण र परिस्थिति खोजीको आवस्यकताको महसुस भने नेपाललाई भएको देखिन्छ।

इजरायली परराष्ट्र मन्त्रालयका डाइरेक्टर जनरल इदेन बार–ताल र परराष्ट्र सचिव राईको फोनवार्ताबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले मंगलबार (२८ असोज) साँझ जारी गरेको विज्ञप्तीमा यो कुराको छनक पाइन्छ।

विज्ञप्तीमा भनिएको छ, ‘शव नेपाल ल्याइसकेपश्चात् पनि विपिन जोशीको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, वीमा सुविधा आदिको लागि उचित पहल जारी राखिने बेहोरा अनुरोध’ छ।

‘विपिनको हत्या दुई वर्षअघि बन्धक अवस्थामा क्रुरतापूर्वक भएको थियो’ भन्ने इजरायली दावीबारे हमासले भने कुनै प्रतिक्रिया जनाएको छैन।

खासमा विपिनबारे हमासले कहिल्यै आधिकारिक जानकारी दिएन। विपिनबारे उसले जानकारी दिएको पहिलो र अन्तिम ‘जानकारी’ भनेकै ४ असोज (२०८२) मा हो। त्यसदिन हमासको सशस्त्र शाखा ‘कास्सिम ब्रिगेड्स’ ले आफ्नो कब्जामा रहेका ४८ बन्धकहरुको तस्वीरसहितको ‘फेयरवेल (विदाई) पोष्टर’ सार्वजनिक गरेको थियो। यसबारेको समाचार कतारको प्रसिद्ध टेलिभिजन च्यानल ‘अलजजिरा’ को अनलाइन संस्करणमा समेत प्रकाशित भयो। विपिन पोष्टरको ३८ औँ नम्बरमा थिए।

गाजाको केन्द्रको रुपमा रहेको ‘गाजा सिटी’ मा समेत इजरायलले हवाई र स्थल आक्रमण गर्ने भएपछि ‘त्यहाँ राखिएका बन्धकहरुको जीवन खतरामा परेको’ भन्दै हमासले विपिन जोशीसहित ४८ जना जीवित र मृत्यु भइसकेका बन्धकहरुको ‘विदाई पोष्टर’ जारी गरेको थियो।

त्यसैले, विपिनको मृत्यु गाजामाथि इजरायली आक्रमणको क्रममा भयो वा हमासले नै उनको हत्या गर्यो, एउटा पक्षको दावीका आधारमा मात्र विश्वास गर्न सकिने स्थिति छैन। यसर्थ पनि कि, युद्धको अवस्थामा विरोधी पक्षले एक अर्काविरुद्ध नकारात्मक सूचना प्रवाह गर्ने गर्छन्।

आपसमा मेल नखाने इजरायली सूचना
विपिनको मृत्युबारे जानकारी दिने क्रममा ‘आइडिएफ’ को  मंगलबारको ट्वीटमा विपिनका साथ शव हस्तान्तरण गरिएका अर्का इजरायली बन्धक गाई इलुजबारे पनि उल्लेख छ। २६ वर्षीय गाइ २३ अक्टोवर २०२३ मा नोभा म्युजिक फेष्टिभलबाट घाइते अवस्थामा हमासको अपहरणमा परेका थिए।

‘आइडिएफ’ को दावी अनुसार बन्दी अवस्थामा आवस्यक उपचार नदिइएका कारण गाइ इलुजको मृत्यु भएको हो।

आफूलाई प्राप्त ‘सुराक’ का आधारमा विपिन जोशी र गाइ इजुजको हत्या।मृत्यु उपरोक्त तवरले भएको दावी ‘आइडिएफ’ को छ। तर, विपिनको शव प्राप्त भएपछि ‘सुराक’ को हवाला दिँदै ‘आइडिएफ’ ले गरेको दावी र यसअघि इजरायली पक्षले विपिनबारे दिएका सूचना एकआपसमा मेल खाँदैनन्।

जस्तो : हमासले सोमबार साँझ हस्तान्तरण गरेको शव विपिनकै हो भन्ने पुष्टि भएपछि आफूलाई प्राप्त ‘सुराक’ का आधारमा विपिनको हत्या अपहरणमा परेको पहिलो महिनामै भएको दावी ‘आइडिएफ’ र इजरायली परराष्ट्र मन्त्रालयले गरेका छन्। तर, सोमबार दिउँसोसम्म इजरायली पक्षलाई विपिन जीवित छन् वा मृत्यु भइसक्यो भन्ने यकिन थिएन।

अघिल्लो दिनसम्म विपिन जीवित वा मृत स्थितिमा रहेको (अर्थात् अज्ञात स्थिति) समेत जानकारी नभएको बताउनु, तर हमासले हस्तान्तरण गरेको शव विपिनको हो भन्ने पुष्टि भएलगत्तै ‘उनको हत्या त अपहरणको सुरुमै क्रुरतापूर्वक गरिएको थियो भन्ने सुराक हामीलाई प्राप्त भएको थियो’ भन्नु परस्पर विरोधी कुरा हुन्।

इजरायली अधिकारीहरुले त्यसअघि विपिन सुरक्षित रहेको दावी गर्दै आएका थिए र उनी सुरक्षित रुपमा नेपाल फर्कने आशा दिलाउने गरेका थिए। गत मंसिर (२०८१) मा कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेलगत्तै नेपालका लागि इजरायली राजदूत सामुलिक एरी बासले मंसिर तेस्रो साता ‘विभिन्न अरबी स्रोतहरुबाट विपिन जीवित रहेको सूचना इजरायललाई प्राप्त भएको छ’ भन्दै विपिन सुरक्षित रुपमा फर्कने दावी गरेका थिए।

विपिन हमासको कब्जामा परेको तीन महिनापछि गाजास्थित अल–शिफा अस्पतालको एउटा भिडियो फुटेज इजरायली सेना (आइडिएफ) ले प्राप्त गरेको थियो। फुटेजमा देखिने टिसर्ट, हाफप्यान्ट र चप्पल लगाएका युवक विपिन जोशी रहेको दावी इजरायली सेनाको थियो।

त्यसबाहेक ८ अक्टोवर (२२ असोज २०८२) मा ‘द टाइम्स अफ इजरायल’ ले हमासको बन्दी अवस्थामा रहेका विपिनको २३ सेकेण्डको भिडियो सार्वजनिक गर्यो। द टाइम्स अफ इजरायलका अनुसार ७ अक्टोवर २०२३ (२० असोज २०८०)  को आक्रमणको केही समयपछि खिचिएको त्यो भिडियो इजरायली सेनाले प्राप्त गरेपछि परिवारका सदस्यलाई उपलब्ध गराइएको थियो।

‘त्यो भिडियो हेर्दै गर्दा छेउमा बुबा र आमा हुनुहुन्थ्यो,’ विपिनकी वहिनी पुष्पाले भिडियोबारे समाचार तयार पारेकी ‘द टाइम्स अफ इजरायलकी सम्वाददाता जेसिका स्टेनबर्गसँग भनेकी छन्, ‘भिडियो हेरेपछि मैले भगवानलाई धन्यवाद दिएँ। किनकी दाजुको अनुहार र शरीरमा कुनै चोटपटक देखिनँ।’  

के त्यो भिडियो २३ सेकेण्डको मात्र हो? भिडियोको बाँकी भाग पनि छ भने त्यसमा विपिनले थप के भनेका छन्? त्यो भिडियो कहाँबाट प्राप्त भएको थियो र के प्रयोजनका लागि त्यो भिडियो खिचिएको थियो? जीवित रहेको प्रमाणका रुपमा भिडियो खिच्ने हमासले आफैमाथि अवगाल सिर्जना हुनेगरी किन विपिनको हत्या गर्नुपर्यो? ‘आइडिएफ’ को तर्फबाट यसबारे कुनै विवरण सार्वजनिक भएको छैन। 

तर, विपिनकी वहिनी पुष्पाले भिडियो हेरेपछि आफ्ना दाजु विपिन जीवितै रहेको विश्वास आफूलाई अरु बढेको उल्लेख ‘द टाइम्स अफ इजरायल’ को समाचारमा उल्लेख गरेकी छन्। खासमा विपिनको सुरक्षित रिहाईका लागि दबाब सिर्जना गर्न साउन–भदौ महिनामा इजरायलले पुष्पालाई आफ्नो मुलुक पुर्याएको थियो।  

उपरोक्त विवरणबाट के देखिन्छ भने, मंगलबार (२८ असोज) अघि ‘आइडिएफ’ ले कहिल्यै विपिनको मृत्यु बन्धक अवस्थामा रहेको सुरुवातमै भएको सुराक प्राप्त भएको जानकारी नेपाल सरकार र परिवारलाई गराएन। तर, जब हमासले विपिनको शव हस्तान्तरण गर्यो, त्यसपछिमात्र सामाजिक सञ्जालमार्फत् ‘पहिल्यै उनको मृत्यु भएको सूचना आफूलाई प्राप्त भएको’ दावी गर्न थाल्यो। 

७ अक्टोबरको आक्रमणका बेला आफूहरूतर्फ फ्याँकिएको बम विपिनले हमासतिरै फालेका थिए। त्यही कारण उनको हत्या भएको हो भन्ने तर्क गर्ने हो भने, इजरायली सेनाका जीवित बन्धकहरूलाई समेत उसले हस्तान्तरण गरेको स्थिति छ। 

यो दुर्भाग्यपूर्ण घटना इजरायल–गाजामा भयो, बन्धक अवस्थाका इजरायलका आफ्ना नागरिक मारिए। अन्य कतिपय इजरायली बन्धकको मृत्यु इजरायलले गाजामा गरेको नाकाबन्दीबाट सिर्जित भोकमरी, उपचार अभाव र इजरायली आक्रमणका कारण भएका विवरण सार्वजनिक भइसकेका छन्।

आफ्ना निर्दाेष नागरिक विपिन जोशीको हत्या खासमा कुन पक्षबाट भयो! नेपालले यो कुरा यकिन गर्नु जरुरी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad