यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरुको उपचार गर्न थालिएको छ।
गण्डकी प्रदेश सरकारले गत वर्ष औषधालयलाई स्तरोन्नति गरी २५ शय्याको अस्पताल बनाएको थियो। अस्पताल प्रमुख डा शरद पन्थीका अनुसार अहिले अस्पतालमा आठ शय्या क्षमतामा बिरामी भर्ना भइरहेका छ।
अस्पतालले पुरानै कार्यालयलाई व्यवस्थापन गरेर बिरामीको भर्नासहित उपचार गरिरहेको छ। अस्पताल स्तरवृद्धिका लागि प्रदेश सरकारले गत वर्ष रु एक करोड ३६ लाखमा पूर्वाधार निर्माणसँगै जनशक्ति व्यवस्थापन गरेको थियो।
गत वर्ष बहिरङ्ग सेवाका लागि १७ हजार बिरामी आयुर्वेद औषधालय पुगेका थिए। पछिल्लो तीन महिनामा २९ जना बिरामीले भर्ना भएर उपचार सेवा लिएका छन्।
अस्पतालमा प्यारालाइसिस, नसा च्यापएको, हाडजोर्नी, ग्याष्ट्रिकलगायतका बिरामीको भर्ना गरेरै उपचार हुन थालेको छ। त्यसैगरी पञ्चकर्म, पूर्वकर्म, छारसुत्र सर्जरी, अकुपञ्चर र चिकित्सकीय योगलगायतको सेवा प्रदान गर्दै आएको छ।
अस्पताल भवन भने साँघुरो रहेकाले नयाँ जग्गा व्यवस्थापन र भवन आवश्यक रहेको अस्पतालले जनाएको छ।
Shares

प्रतिक्रिया