समाज


जेनजी आन्दोलनका घाइते भन्छन्– घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले

जेनजी आन्दोलनका घाइते भन्छन्– घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले

नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १५:४४, काठमाडौँ

गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमै थिइन्। माइतीघरबाट सुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको घानमा आफू परिएला भन्ने उनलाई के थाहा? तर भइदियो त्यस्तै।

सप्तरीकी ४८ वर्षीया साहको पसल कोटेश्वर प्रहरी चौकी छेउमै छ। एउटा ठूलो भिड कोटेश्वरतिर आइसकेपछि उनी हेर्नका लागि बाहिर  निस्किएकी थिइन्। हेर्दाहेर्दै प्रदर्शन चर्किंदै गयो। कताकताबाट आएको पेट्रोलसहितको आगो उनको शरीरमा सल्कियो। उनलाई उद्धार गरेर कान्तिपुर अस्पताल पुर्‍याइयो। त्यहाँ पनि आन्दोलनकारीको भिड भएकाले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) लगियो। 

अहिले पनि उनी केएमसीको प्लाष्टिक सर्जरी पोष्ट अपरेटिभ वार्डको बेड नं २४४ मा उपचाररत छिन्। उनको शरीरको १८ प्रतिशत भाग जलेको छ। कम्मरमुनि र दायाँ हातमा बढी असर छ। 

अस्पतालको शय्यामा सुतिरहनुपर्दा उनमा पीडा थपिएको छ। घाउ चहर्‍याउँदा उहाँ घरीघरी चिच्याउँछिन्।

सबैभन्दा नरमाइलो त उनलाई दसैँमा भएको थियो। अस्पतालको बेडमै रहँदा दसैँको रौनक आयो, गयो। तिहारअघि त डिस्चार्ज हुन्छु कि भन्ने थियो। तर उनलाई चिकित्सकले निगरानीमै राखेको छ।
 
‘बाहिर तिहारको झिलिमिली, रङ्गीचङ्गी छ। सबैमा उत्साह र रौनक छ, मैले भने दसैँतिहार नै अस्पतालको शय्यामा बिताउन बाध्य भएँ,’ उनी भन्छिन्।

यस्तो बेला उनलाई विगतका दसैँ र तिहराको झझल्को नआउने होइन। हरेक वर्ष उहानी तिहारमा घर–पसल सजाउँथिन्। तिहारले बेग्लै खुसीयाली दिन्थ्यो। यसपालि भने उनको घर सजिएन। ‘मनमा उत्साह नै नभएपछि घर सजाउनुको के अर्थ भयो र,’ उनी निराश हुँदै भन्छिन्, ‘डेढ महिना पुग्न लागिसक्यो। अस्तपालको बेडमै बस्दाबस्दा म थाकिसकेकी छु।’

उनी अस्पतालमा भएपछि पसल छोरा राहुलले रेखदेख गर्दै आएका छन्। ‘छोरा विदेश जाने तयारीमा थियो। म नै अस्पताल भर्ना भएपछि अब उसको के हुने हो टुंगो छैन,’ उनले सुनाइन्।

केएमसीकै हाई केयर युनिटमा छन्, काभ्रेका २७ वर्षीय कमल घिमिरे। उनका आमाबुबा भक्तपुरको राधेराधेमा गाई फार्म चलाउँदै छन्। घिमिरेले पनि आमाबुबालाई सघाउँदै आएका थिए।

दूध पुर्‍याउन सधैँझैँ भदौ २३ गते पनि उनी बानेश्वर आएका थिए। घर फर्किने बेलासम्म काठमाडौँको अवस्था असामान्य बनिसकेको थियो। बानेश्वर क्षेत्र तनावग्रस्त थियो। पानीको फोहरा, अश्रुग्यास मात्र होइन गोलीसमेत चल्न थालिसकेको थियो। उनी यो माहोल हेर्न बानेश्वरमा एकछिन के रोकिएका थिए, गोली उनको छातीमा लाग्यो।

काका प्राणनाथ घिमिरेका अनुसार गोलीले फोक्सोमा ठूलो असर पुर्‍याएको छ। केही समय त कमलको बोली नै ननिस्किने भएको थियो अहिले भने बोल्न सक्छन्। ‘सरकारले स्वास्थ्य उपचार निशुल्क गरे पनि औषधी र खानाको पैसा तिर्नुपरेको र त्यो महंगो भएकाले हामीलाई निकै गाह्रो परिसक्यो,’ कुरुवा बस्दै आएका काका प्राणनाथले भने, ‘छातीको दायाँ भागमा ठूलो घाउ छ। डाक्टरले पुरिन निकै समय लाग्छ भनेका छन्।’

गोली लागेपछिका कठिन समय र शारीरिक पीडा त छँदै छ, तर यहीबीच आइपरेका महत्त्वपूर्ण चाड कमलले खुब ‘मिस’ गरेका छन्। ‘अस्ति दसैँमा त मैले नै जसोतसो टीका लगाइदिएँ,’ काका प्राणनाथ भन्छन्, ‘यो तिहार भने उसको खल्लो होलाजस्तो छ। अस्पतालमा भाइटीका गर्न सजिलो छैन।’ कमलका एक जना बहिनी छिन्।
 
पटक–पटक शल्यक्रिया गर्नुपर्ने भएकाले कहिले निको हुने टुंगो नभएको दिक्दारी कमलका काकाले पोख्थे। ‘यत्रा चाडबाड आए, म पनि अस्पतालमै बस्नुपर्ने बाध्यता आइलाग्यो। तिहारमै पनि अस्पतालकै बास भयो,’ उनले भने, ‘डाक्टरले छोरो निको भयो, अब घर जानु भनेका दिन कति खुसी लाग्ने थियो।’ चाडबाडका बीच अस्पतालको बेडमै रहनुपर्दा घाइतेलाई घरपरिवार आफन्तको यादले बढी सताएको छ।

जेनजी आन्दोलनका घाइतेहरू काठमाडौँका अरु अस्पतालमा पनि छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा ३ जना, बी एन्ड बी अस्पतालमा १ जना र नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा १ जना गरी देशभर ११ जना घाइते उपचाररत छन्। आन्दोनलमा घाइतेभइ उपचारका लागि २ हजार ५सय ७१ अस्पताल पुगेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad