समाज


भाइटीकाका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

भाइटीकाका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

फाइल तस्बिर


नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार ६:३७, काठमाडौँ

दिदीबहिनी नहुनेका लागि आज काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका लागि खुला गरिँदैछ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र सर्वसाधारणका लागि खुला गर्ने प्रचलन छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

आज पनि मन्दिर बिहानैदेखि खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्र व्यवस्थापन समितिले जनाएको छ। मन्दिर आज भक्तजन आएसम्म खुला गरिन्छ

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ।

विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेश गरेका मानिस पोखरीमा हामफाल्ने समस्या बढेपछि बन्द गरिन्थ्यो।

त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो। पछिल्लो समय पहिले जति नआए पनि यहाँ भाइटीकाका दिन भक्तजनको लाम लाग्ने गर्छ। 

विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। 

भक्तपुरका नेवार समुदायका केहीले भने बुधबार नै किजापूजा गरेको जनाइएको छ। भक्तपुरस्थित तलेजु मन्दिरका पुजारीले गरेको निर्णयअनुसार यस्तो गरिएको भक्तपुर नगपालिकाले जनाएको छ। 

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरि भाइतीका पर्व मनाउँदैछन्। 

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११स्३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad