समाज


पोखरामा भाइटीका महोत्सव: विदेशीको निधारमा सप्तरंगी टीका

पोखरामा भाइटीका महोत्सव: विदेशीको निधारमा सप्तरंगी टीका

नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार १८:१८, पोखरा

पोखरामा आयोजित भाइटीका महोत्सवमा एक सयभन्दा बढी पर्यटकले सहभागिता जनाएका छन्। महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका पर्यटकले भाइटिका लगाएको आयोजक पोखरा होटल  अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। 

संघले पोखरा र सिंगो नेपालको पर्यटन प्रवर्धन र संस्कृतिको संरक्षणको लागि विविध महोत्सव आयोजना गर्दै आएको स्मरण गराउँदै अध्यक्ष सुवेदीले यो पटकको भाइटीका महोत्सव पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताए। महोत्सवमा अमेरिका, बेलायत, चीन, भारत, जर्मनी, इजरायल, स्वीडेन, अष्ट्रेलिया, स्पेन, न्युजिल्यान्ड, नेदरल्यान्डलगायतका देशका पर्यटकको सहभागिता रहेको थियो। 

लेकसाइडस्थित होटल पौवामा आयोजना भएको महोत्सवमा रेन्वो चिल्ड्रन होमका छात्राहरूले पर्यटकलाई टीका लगाइदिएका थिए। सहभागी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो। 

पर्यटकहरूले सेलरोटीलगायत नेपाली परिकार चाखे र महोत्सवका अवसरमा आयोजित देउसीभैलोमा रमाए।  सप्तरंगी टीका लगाएका पर्यटकहरू नौलो अनुभव लिन पाएको भन्दै दंग थिए। अष्ट्रेलियाबाट आएकी एक पर्यटक एनिले आफू धेरै पटक नेपाल आएको र यो पटक नेपाल आएर टिका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिइन्। उनले नेपाल सांंस्कृतिक रुपमा धनी रहेको भन्दै नेपालीको अतिथि सत्कारबाट आफू प्रभावित भएको बताइन्। 

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्ध्न गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले  महोत्सव आयोजना गरिएको हो। पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्रसमेत प्रभावित हुन पुगेको भन्दै संघले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ। 

कार्यक्रम भव्य रुपमा सम्पन्न भएको भन्दै महोत्सवका संयोजक एवं संघका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले उपस्थित सबैलाई धन्यवाद दिए। महोत्सवमा तिहारको महत्व, दिपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी गराइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad