समाज


काठमाडौँ उपत्यकामा मापसे जाँचमा कडाइ

काठमाडौँ उपत्यकामा मापसे जाँचमा कडाइ

नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार २०:१७, काठमाडौँ

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ। 

उपत्यकामा विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने सवारी दुर्घटनामा मादक पदार्थ सेवन प्रमुख कारण मानिँदै आएकाले यस वर्ष ट्राफिक प्रहरीले विशेष सतर्कता अपनाएको हो। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा जनपद तथा ट्राफिक प्रहरीले आज बिहानैदेखि रातिसम्म उपत्यकाका मुख्य चोक, सडक र गल्लीमा मापसे परीक्षण गरी कडाइका साथ अनुगमन गरिरहेको छ।

चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने प्रहरीको अपेक्षा अनुसार आज दिनभरी जनपद तथा ट्राफिक प्रहरी सडकमा खटिएको उनले बताए।  

'हाम्रो उद्देश्य दण्डित गर्नु होइन, चेतना जगाउनु हो। नागरिकले सुरक्षाको जिम्मेवारी आफैं लिऊन् भन्ने सन्देशका साथ हामी सडकमा खटिएका छौँ। चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने नै प्रहरीको अपेक्षा हो', प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने। 

उक्त अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी आफैँ खटिएका छन्। उनले टोलीसहित त्रिपुरेश्वर, नयाँवानेश्वर, कलङ्की, दरबारमार्ग, महाराजगञ्ज, गौशाला, चाबहिल, बल्खुलगायतका क्षेत्रमा निरीक्षण चालकहरूको मापसे परीक्षण गरेका थिए। 

भाइटीकाको दिन काठमाडौँ उपत्यकाभर सवारी चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको वा नगरेको विषयमा सयौँ सवारीसाधनका चालकको परीक्षण गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए। 
 
उनले भने, 'मापसेको कारण दुर्घटना नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो। त्यसैले हामीले आज दिनभरी मापसे परीक्षणसँगै सडकमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेका छौँ।'

ट्राफिक प्रहरीले दसैँ, तिहारजस्ता पर्वमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति रोक्न गत वर्षभन्दा यस वर्ष थप कडाइ गरेको  छ। 

उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले ‘मापसे नगरी सवारी चलाऔँ, सुरक्षित यात्रामा सबैको साथ दिऔँ’ नारासहित सडक प्रयोगकर्तामाझ सचेतनामूलक पर्चा वितरण र माइकिङसमेत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad