समाज


लोबुचे हेलिकप्टर दुर्घटनाः पाइलट सकुशल, पुच्छरको भागमा क्षति

लोबुचे हेलिकप्टर दुर्घटनाः पाइलट सकुशल, पुच्छरको भागमा क्षति

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १६:०, सोलुखम्बु

सगरमाथाको मुटुमा पर्ने लोबुचे आज बिहान केहीसमय हवाई त्रासमा रह्यो। हिउँले छोपिएको सगरमाथाको फेदमा अल्टिच्युट एयरको हेलिकप्टर अकस्मात् चिप्लिएर अवतरणस्थलमा ठोक्कियो। तर, समय बलियो थियो, यो दुर्घटनाले मानवीय क्षति भएन। 

आज बिहान ८ः१५ बजे ‘अल्फा माइक सेरा’ कलसाइन भएको हेलिकप्टर लुक्लाबाट (४,९४० मिटर) लोबुजेतर्फ उडेको थियो। मंगलबार राति परेको बाक्लो हिमपातपछि त्यहाँ रोकिएका केही पर्यटकलाई उद्धार गर्न हेलिकप्टर त्यसतर्फ उडेको थियो। तर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा सतहमा जमेको हिउँले रनवे चिप्लियो, अनि हेलिकप्टरको पुच्छर जमिनमा ठोक्कियो। 

‘अवतरणकै क्रममा हेलिकप्टर चिप्लिएर पछाडिको भाग क्षतिग्रस्त भएको हो’, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले भने, ‘तर पाइलट विवेक खड्का सकुशल हुनुहुन्छ, यो खुसीको खबर हो।’ उनका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टर अहिले पनि सोही क्षेत्रमा छ। 

बाक्लो हिउँ र प्रतिकूल मौसमका कारण तत्काल उद्धार सम्भव नभएको प्रजिअ पाण्डेले जानकारी दिए। ‘हेलिकप्टर हिउँमा केही भाँसिएको छ, त्यसैले उडान सम्भव छैन’, उनले भने।

दुर्घटनाको क्षणमा हेलिकप्टरमा पाइलट खड्का एक्लै सवार थिए। उनलाई अर्को हेलिकप्टरमार्फत उद्धार गरी लुक्ला ल्याइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। ‘हामीले तत्काल उद्धारको व्यवस्था गरेका थियौँ, पाइलट सकुशल हुनु ठूलो राहत हो’, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले भने। रासस

    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad