नेपाली सेनाको मुख्यालय जंगीअड्डाको तारबार (कम्पाउन्ड) नाघेर एक युवकले रातभर तोडफोड गरेको खुलेको छ। घटना २०८२ असोज १८ गते रातिको हो।
त्यसरात सिन्धुलीको तीनपाटन गाउँपालिका ६ घर भई हाल काठमाडौँ महानगरपालिका २२ न्युरोडमा बस्ने २४ वर्षका राहुल बोगटीले जंगीअड्डामा भाँडभैलो मच्चाएको तथ्य पत्ता लागेको हो।
असोज १८ गते राति ११ बजेतिर तारबार नाघेर पसेका बोगटी भोलिपल्ट बिहान ११ः५० बजे निस्किएपछि मात्रै नेपाली सेनाले पत्तो पाएको थियो। त्यसपछि नेपाल प्रहरीको सहयोगमा बोगटीलाई पक्राउ गरेर आपराधिक उपद्रवमा मुद्दा चलाइएको छ।
त्रिभुवन आर्मी अफिसर क्लब सभामण्डप भवनभित्र रहेको ड्राइसौनामा प्रवेश गरेर उनले सामानहरू तोडफोड गरेको पाइएको छ। यसरी करिब ३७ हजार २ सय रुपैयाँ बराबरको क्षति पुगेको दाबी सेनाले गरेको छ।
तोडफोडपछि उनी राति उक्त भवनभित्रै रहेको महिला शौचालयभित्र बसेको र भोलिपल्ट बिहान ११ः५० बजे क्लब हाउसको गेटनजिकैबाट हामफालेर भागेको खुलेको छ।
त्यसपछि नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीले उनलाई काठमाडौँ महानगरपालिका २८ संकटा मन्दिरमा फेला पारेर पक्राउ गरेको छ। पक्राउ परेका बोगटीलाई आवश्यक कारबाही गर्नका लागि नेपाली सेनाले पत्रसहित नेपाल प्रहरीलाई बुझाएको थियो।
राहुलको बयान : होसमा थिइनँ
सैनिक मुख्यालयमा पसेर भाँडभैलो मच्चाएका राहुलले भने त्यसबेला आफू होसमा नरहेको बयान दिएका छन्।
प्रहरी अनुसन्धानका क्रममा उनले भनेका छन्, ‘मलाई एक्कासि के भयो, भयो मेरो होस गुम्यो। म एक्कासि नेपाली सेनाको जंगीअड्डा भद्रकाली परिसरको तारबार नाघी भित्र प्रवेश गरेको रहेछु।’
१२ वर्षदेखि काठमाडौँमा रहेका बोगटी न्युरोडस्थित डेरामा बस्छन् र ज्याला मजदुरी गर्छन्।
असोज १५ गते बनेपामा काकाको हातबाट टीका लगाएर भोलिपल्ट सार्वजनिक यातायातमा काठमाडौँ फर्किएका थिए। साँगाचोकबाट गाडी चढेका उनी आरएनएसी अगाडी ओर्लिए।
त्यसपछि उनी संकटा मन्दिरको भित्री गल्ली हुँदै दिदीको घरमा बसेर भोलिपल्ट बिहानै ७ बजेतिर दिदीको घरबाट निस्किएर न्युरोड घुमफिर गरे। न्युरोडमा पानीमा भिजिसकेका थिए।
न्यरोडबाट हिँड्दै रातको ११ बजे सहिदगेट पुगेका उनी तारबार नाघेर भित्र प्रवेश गरेका थिए। तर भित्र पसेर कहाँ कहाँ के के गरेँ भन्ने आफूलाई होस् नभएको बयान उनले दिएका छन्।
आपराधिक उपद्रवको कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। उनलाई सोही सजाय माग गरी जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
Shares

प्रतिक्रिया