समाज


सशस्त्र प्रहरीका ६२ गुल्म र २१५ बीओपी स्थायी, केही गणको स्तरोन्नति

सशस्त्र प्रहरीका ६२ गुल्म र २१५ बीओपी स्थायी, केही गणको स्तरोन्नति

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १३:५३, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालका ६२ गुल्म र २१५ बीओपी अब स्थायी हुने हुने भएका छन्। १७ जिल्लामा रहेका गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा बीओपी यसअघि अस्थायी थिए।

सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण पास भएसँगै यी कार्यालयहरु स्थायी हुने भएका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

कुरिनटारमा रहेको ट्रमा सेन्टर, सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पताल समेत स्थायी संरचनामा संचालन हुने भएका छन्।

यसअघि सशस्त्र प्रहरीका १ सय ११ वटा कार्यालय मात्र स्थायी रहेका थिए। यो निर्णयसँगै स्थायी कार्यालयको संख्या ३ सय ९६ वटा पुगेको डीएसपी थापाले बताए।

सशस्त्र प्रहरी बल नेपालको सांगठानिक सुधार तथा केही पदको समायोजन र विभिन्न कार्यालयहरुको स्तरबृद्धि गरी नयाँ संरचना तयार गरिएको छ। संरचनामा कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणको स्तरबृद्धि गरी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको कमाण्डमा रहने गरी सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको छ।

यसबाट काठमाडौ उपत्यकामा शान्ति सुरक्षा कायम गर्न थप सहज हुने सशस्त्रको दाबी छ। आठ सय जना भन्दा बढी जनशक्ति रहने उक्त गणबाट हुल तथा दंगा व्यवस्थापनका लागि विशेष तालिम प्राप्त सुरक्षा फौज ठुलो संख्यामा एकै पटक परिचालन हुनेछन्। 

त्यसैगरी विशिष्ठ व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान तथा कुटनीतिक नियोग समेतको सुरक्षा हेर्ने गरी काठमाडौँ कान्तिपथस्थित सशस्त्र प्रहरी बल नेपाल नं २४ बाघभैरव गुल्मलाई गणमा स्तरोन्नती गरिएको छ। यसबाट ती निकायहरुमा सुरक्षार्थ सोही प्रकृतिका तालिम प्राप्त सुरक्षा फौज परिचालन हुनेछन्।

यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डाक्टरको कमाण्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डाक्टरले कमाण्ड गर्नेछन् । स्थायी भएसँगै ती अस्पतालबाट सर्वसाधरणले समेत स्वास्थ्य सेवा पाउनेछन्।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको कानून महाशाखालाई निर्देशनालयमा स्तरोन्नती गरी सशस्त्र प्रहरी नायव महानिरीक्षकको दरबन्दी थप गरिएको छ। विपद् व्यवस्थापनको म्याण्डेटलाई थप प्रभावकारी बनाउनको लागि विपद् व्यवस्थापन महाशाखालाई निर्देशनालयमा स्तरबृद्धि गरी सशस्त्र प्रहरी नायव महानिरीक्षकको दरबन्दी थपिएको छ।

नेपाल सरकारलाई कुनै थप आर्थिक भार नपर्ने गरी आन्तरिक रुपमा समायोजन गरिएका यी पदहरुसँगै जवानदेखि माथि सबै दर्जामा ३ सय जना भन्दा बढीको बृत्तिविकास हुने सह–प्रबक्ता थापाले बताए। यसमा लामो समयसम्म एउटै दर्जामा रहेका प्राविधिक जनशक्ति समेत बढुवा हुनेछ । 

यसैगरी इन्टेलिजेन्स व्यूरोको कामकारवाहीलाई थप प्रभावकारी बनाउको लागि अधिकृतस्तरका ३८ जनासहित सशस्त्र प्रहरी नायव महानिरीक्षकको कमाण्डमा रहने गरी दरबन्दी थप गरिएको छ। व्यूरोमा अब जुनियर अधिकृत तथा सो भन्दा माथिका जनशक्ति मात्र रहने छन्। 

जसले इन्टेलिजेन्स बेश बोर्डर सुरक्षाको अवधारणालाई थप प्रभावकारी बनाउने छ। यो सँगै सशस्त्र प्रहरी बल नेपालमा ३ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकको दरबन्दी थप भएको छ भने नं १८ निलबाराही गण कीर्तिपुर रेजिमेन्टको स्तरोन्नतीसँगै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको समेत दरबन्दी थप भएको छ।

सशस्त्र प्रहरी बल नेपालको सांस्कृतिक तथा बाध्यवादन गुल्मलाई समेत स्तरबृद्धि गरी सांगितिक शिक्षालय बनाइएको छ। अब सशस्त्र प्रहरी उपरीक्षकले कमाण्ड गर्ने गरी दरबन्दी समायोजन गरिएको छ। 

यसैगरी सशस्त्र प्रहरी बलका १० वटा तालिम शिक्षालयहरुको असमान दरबन्दी संरचनालाई समेत समान संरचना बनाइने भएको छ । अब सबै शिक्षालयमा दरबन्दी संख्या बराबर हुनेछ। यसकासाथै प्राविधिक समूहतर्फका विल्लादार जवानहरु १५÷१६ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यता हटेको छ।

विपद्‍मा खटिँदा मृत्यु भए एक तह बढुवा, पारिवारिक निवृत्तिभरण 
सशस्त्र प्रहरी बल नेपालको चौथो संशोधन नियमावली, २०८२ मा विपद्मा खटिदा मृत्यु भएका कर्मचारीलाई एक तह बढुवासहित पारिवारीक निवृत्तीभरण उपलब्ध गराइने व्यवस्था गरिएको छ।

यसअघि सो नियमावलीको नियम ७६ को उपनियम २ मा कुनै प्रकारको सशस्त्र मुठभेड, आक्रमण, विष्फोटन, हतियारधारी समूह वा त्यस्तै अन्य समूहको कारबाहीमा मृत्यु भएमा मात्रै सुविधा दिने व्यवस्था थियो। 

अबदेखि विपद् उद्धार कार्यमा खटिएका बखत मृत्यु भएमा समेत यस्तो सुविधा उपलब्ध गराइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad