सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको नयाँ मुख्य सचिव नियुक्त गर्ने सम्भावना छ। हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंगलबार रातिबाट अनिवार्य अवकाश हुने छन्। अर्यालले करिब १५ महिना मुख्यसचिव भएर काम गरे। गृहसचिव हुँदै उनी मुख्यसचिव नियुक्त भएका थिए।
अर्याल अवकाश हुने भए पनि पहिलो नम्बरका सचिव भने मुख्य सचिव बन्न नपाउने भएका छन्। हाल पहिलो नम्बरमा राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणी दुवाडी छन्। तर दुवाडी पनि सचिवको ५ वर्षे पदावधिका कारण मंगलबार रातिदेखि नै अनिवार्य अवकाश हुने छन्।
मुख्यसचिव अर्यालको अवकाश पहिले नै मुख्यसचिव नियुक्त भएको भए दुवाडीको सेवा अवधि लम्बिने थियो। तर, त्यसका लागि अर्यालले राजीनामा दिए र सरकारले दुवाडीलाई मुख्यसचिव बनाउन चाहेको भए मात्रै सम्भव थियो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दुवाडी सरकारको रोजाइमा छैनन्। जेनजी आन्दोलनका बेला उनी गृहसचिव थिए। उनलाई जाँचबुझ आयोगले पनि बयानका लागि बोलाएको छ। यो अवस्थामा दुवाडीको मुख्यसचिव हुने सम्भावना कम रहेकाले उनी पनि अवकाश हुनेछन्।
२८औँ मुख्यसचिवको प्रतिस्पर्धामा चार सचिव, अर्याल अगाडि
२८औँ मुख्य सचिवको प्रतिस्पर्धामा मुख्यगरी चार जना सचिव प्रतिस्पर्धामा छन्। तर यीमध्ये रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालको सम्भावना बलियो छ। उनी अन्य सचिवभन्दा सिनियर पनि हुन्।
अर्याल २०७७ माघ १९ गते सचिवमा बढुवा भएका थिए। मुख्य सचिव बन्न नसके उनी माघ १९ गतेबाट सचिवको ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुनेछन्।
अर्याल मुख्यसचिव भए २०८३ असार २६ गतेसम्म मात्रै सेवामा रहनेछन्। त्यसपछि उनी पनि मुख्यसचिवको ५८ वर्षे उमेर हदका कारण अवकाशमा जाने छन्।
अर्याल तथ्यांक समूहबाट निजामती सेवामा प्रवेश गरेका हुन्। सहसचिव हुँदासम्म तथ्यांक विभागकै महानिर्देशक रहेका अर्याल सचिवमा बढुवा भएपछि मात्रै प्रशासन सेवामा आएका थिए।
सचिव भएपछि उनले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
दोस्रो नम्बरकी सचिव हुन् प्रमिलादेवी शाक्य बज्राचार्य। उनी हाल खानेपानी मन्त्रालयको सचिव छिन्। उनी इन्जिनियर समूहबाट सहसचिवमा नाम निकाल्न सफल भएकी थिइन्। बज्राचार्य २०७८ असार १७ गते सचिवमा बढुवा भएकी थिइन्। मुख्यसचिव नभए उनी आगामी असार १७ गतेबाट अनिवार्य अवकाश हुनेछिन्।
तेस्रो नम्बरमा छन् मधुसुदन बुर्लाकोटी। बज्राचार्यभन्दा चार दिनपछि बुर्लाकोटी सचिवमा बढुवा भएका थिए। सचिव बुर्लाकोटी हाल राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी छन्। उनी पनि मुख्यसचिव नबने आगामी असार २१ गते नै अवकाश हुनेछन्।
चौथो नम्बरमा रहेका कृष्णहरि पुस्करलाई पनि मुख्यसचिवका प्रतिस्पर्धीको रूपमा हेरिएको छ। पुस्कर हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव छन्। २०७८ असार २५ गते पुस्कर सचिवमा बढुवा भएका थिए।
बुर्लाकोटी र पुस्कर भने प्रशासन समूहबाटै निजामती सेवामा प्रवेश गरेका थिए। यसअछि पाँचौँ नम्बरमा प्रधानमन्त्री कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल र छैटौँ नम्बरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे छन्। घिमिरे २०७८ साउन ४ गते सचिवमा बढुवा भएका हुन्।
अर्याल भने अरूभन्दा पाँच महिना सिनियर भएकाले उनी नै मुख्यसचिव हुने सम्भावना बलियो छ।
यसअघिका नियुक्तिमा सरकारले वरिष्ठताक्रमलाई नै प्राथमिकता दिएकाले यसपटक पनि वरीयता मिच्ने सम्भावना कम छ। सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि नै उनलाई रक्षा सचिवको जिम्मेवारी दिइएको थियो। त्यसअघि उनी राष्ट्रिय योजना आयोगमा थिए।
Shares

प्रतिक्रिया