समाज


टीओबी समूहका दावा लामाबाहेक सबै नेपाली, कसरी आए आन्दोलनमा? (पूर्णपाठ)

टीओबी समूहका दावा लामाबाहेक सबै नेपाली, कसरी आए आन्दोलनमा? (पूर्णपाठ)

नेपालखबर
मंसिर ८, २०८२ सोमबार २१:४०, काठमाडौँ

गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आन्दोलन भड्काएको आरोप लागेको टीओबी (तिब्बतीयन ओरिजिनल ब्लड) समूहका एक जना बाहेक सबै नेपाली नागरिक रहेको प्रहरीले बताएको छ।

सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जेनजी आन्दोलनबारे बिस्तृत विवरण प्रस्तुत गर्दै टीओबीबारेको अनुसन्धान निष्कर्ष पनि सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार क्रममा चर्को आवाजमा बाइक कुदाउँदै परिस्थिति भड्काएको आरोप लागेको टीओबी समूहका तेन्जिन दावा लामाबाहेक अरुको तिब्बतसँग कुनै सम्बन्ध देखिएको छैन।

बिजुलीबजारमा पेस्तोल देखाएको भिडियो सार्वजनिक भएपछि पक्राउ परेका उनलाई प्रहरीले सुरुमा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो। यद्यपि, त्यो भिडियो जेन–जी आन्दोलनको बेलाको नभई, केही महिना पहिल्यै म्युजिक भिडियो बनाउँदाको भएको प्रहरीको भनाइ छ।

अभद्र व्यवहारको कसुरमा ७ हजार ५ सय रुपैयाँ धरौटी प्रशासनले मागेको थियो।

उनीमाथि लिखत, नागरिकता र राहदानीसम्बन्धी कसुरमा पनि अनुसन्धान भइरहेको छ। प्रहरीले उनीको साथबाट गाँजासमेत बरामद भएकाले लागूऔषधको कसुरमासमेत अनुसन्धान गरिरहेको छ। 
एसपी भट्टराईका अनुसार, १० जुन २०२४ मा यो बाइकर्स समूहको रुपमा स्थापना भएको देखिएको छ।

प्रदर्शना क्रममा २६ जनाको समूहले प्रयोग गरेको १३ वटा बुलेट र एउटा पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ती मोटरसाइकलहरु सोमबार अभिभावकको रोहबरमा सम्बन्धितलाई जिम्मा लगाइएको छ।

‘यसमा ५७ जना सदस्य रहेछन्, लोगोको डिजाइन तेन्जिन नै गरेका रहेछन्,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसको पूरा रुप द ओरिजिनल ब्रदर्स रहेको देखिन्छ, तर तिब्बती मूलको भएकाले तेन्जिनले आफ्नो ज्याकेटमा तिब्तियन ओरिजिनल ब्लड लेखेको बयान दिएका छन्।’ 

समूहका उनीबाहेक अरु सबै सदस्य नेपाली नागरिक रहेको प्रहरीले उल्लेख गरेको छ। प्रहरीले तेन्जिनको साथबाट चाहिँ तिब्बतीयन ओरिजिनल ब्लड लेखिएको अरु ६ वटा ज्याकेट पनि बरामद गरेको छ।

एसपी भट्टराईले भने, ‘टीओबी तेन्जिनबाहेक अरु व्यक्तिको बुझाईमा द ओरिजिनल ब्रदर्स हो, फेसबुक, इन्स्टाग्राममा पनि त्यही लेखिएको छ।’ 

प्रहरीका अनुसार, तेन्जिनसहित अरु सदस्यहरुले सुरेन्द्र गुरुङ नामक र्‍यापरबाट प्रभावित भएर टिसर्टमा हाकिम लेखेको उनीहरुले बयान दिएका छन्।

‘ड्रागनले युद्धमा जाने योद्धा र त्यसमाथि रहेको फूलले शान्ति प्रियलाई चिनाउँछ भने हाकिमले शासकलाई चिनाउँछ, यो बाहेक लोगोको कुनै तात्विक अर्थ छैन,’ भट्टराईले थपे।

जेन–जी प्रदर्शनको एक दिनअघि नै यो समूहले आन्दोलनमा सहभागी हुने विषयमा सल्लाह गरेको पनि देखिएको छ। 

टीओबीको इन्टाग्राम एकाउन्टमा सोनाम शेर्पाले सूचना राख्दै २३ भदौमा बिहान गोपीकृष्ण हल नजिक रहेको ‘चिया बस्ती’ नामक चिया पसलमा भेला हुन भनेको पाइएको छ।

त्यसपछि यो समूहमा रहेका मोटरसाइकल राइडरहरु २३ भदौमा त्यही चिया पसलमा भेला भएर समूहमा हिँडेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad