समाज


२३ वर्षीय योगेन्द्रको तस्बिर सुमसुम्याउँदै आमा भन्छिन्: यस्तो छोरो गुमाएर बाँच्नुपरेको छ

२३ वर्षीय योगेन्द्रको तस्बिर सुमसुम्याउँदै आमा भन्छिन्: यस्तो छोरो गुमाएर बाँच्नुपरेको छ

राधिका बुढाथोकी/रासस
मंसिर १८, २०८२ बिहिबार ६:१६, कमलामाई (सिन्धुली)

‘मेरो मुटुको टुक्रा के भयो आज यो! मेरो प्यारा तिम्रो बोली कहाँ गएर सुनु, तिम्रो हाँसो अब कसरी हेरुँ, दसैँ-तिहार चाडबाड कसरी मनाऊँ, यो अभागी आमाको मन कसरी बुझाऊँ?’

गत भदौ २३ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिद योगेन्द्र न्यौपाने (रोसन) को आमा लक्ष्मीले आँसुका धारा बगाउँदै बोलिरहने शब्द हुन् यी।

जेनजी आन्दोलनको पहिलो दिनमै प्रहरीले चलाएको गोली लागेर काठमाडौँको बानेश्वरमा योगेन्द्र सधैँका लागि अस्ताएका थिए।

घरको जिम्मेवारी सम्हाल्ने बेला भएको छोरो गुमेपछि लक्ष्मीको अनुहारमा छाएको पीडा शब्दले बयान गर्न सकिन्न। दिउँसै बत्ती बाल्दा पनि उज्यालो नछाउने घरको एक कोठामा सहिद योगेन्द्रका तस्बिरहरू राखिएका छन्। त्यही कोठामा लक्ष्मीको धेरै समय बित्छ।

साँझ–बिहान श्रद्धाञ्जलि लेखिएका तस्बिरमा धूप-दीप गर्छिन् र छोराको स्वर्गमा बास होस् भन्ने कामना गर्छिन्।

‘जेनजी आन्दोलनमा अरू धेरैका सन्तानले ज्यान गुमाए। तर, यस्तो बेला आफूलाई मात्रै पीडा परेजस्तो लाग्दोरहेछ,’ लक्ष्मीले २३ वर्षीय सहिद योगेन्द्रको तस्बिर सुमसुम्याउँदै भनिनन्, ‘यस्तो छोरो गुमाएर बाँच्नुपरेको छ।’

लक्ष्मी सुत्ने कोठाभरि सहिद योगेन्द्रका बाल्यकालदेखि युवावस्थासम्मका सम्झना छन्। आमा लक्ष्मीका आँखाभरि गुमाएको छोरोका याद छन्। त्यी यादले उनलाई रातमा निद्रा दिँदैन, दिनमा चयन मिल्दैन।

छोरोको झल्कोले बेलाबेला ऐँठन भइराख्छ। ‘अब रुन्नँ भन्छु, उसलाई सम्झिन्छु। आँसु खस्छ, रोक्नै सक्दिनँ। कोही साथमा हुँदा बोल्यो। एक्लै हुँदा त सम्झयो, रोयो। के गरी मन बुझाउनु,’ उनले पीडा पोखिन्। 

सानै उमेरमा माइतीका आमाबुबा गुमाएकी लक्ष्मीका दाजुभाइ पनि छैनन्। तीन सन्तान थिए। जेठो छोरो योगेन्द्रले अकालमै ज्यान गुमाउनुपर्‍यो। अहिले दुई सन्तान मात्र छन्। तीमध्ये छोरीको विवाह भइसकेको छ। कान्छो छोरो सहिद योगेन्द्रको काजकिरीया सकिएपछि काठमाडौँ फर्किएका छन्।

यतिबेला सहिद योगेन्द्रको सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ च्याकुटारस्थित घरमा आमा लक्ष्मी र बुबा युवराज न्यौपाने (उमेश) मात्रै छन्। लक्ष्मी दम्पतीले केही समयअघि गाउँमा भएको जमिन बेचेर काठमाडौँमा घर किनेका थिए। योगेन्द्र त्यही घरमा बसेर त्रिचन्द्र क्याम्पसमा पढ्दै थिए। 

उनको सपना थियो- सरकारी सेवामा अधिकृत बन्ने। उनले आफ्नो सपना पूरा गर्न गत असारमा अधिकृत बन्ने लोकसेवा आयोगको परीक्षा दिएका थिए। काठमाडौँ आफ्नै घरमा बसेका योगेन्द्र गाउँको घरमा नआएको पनि ६ महिना भएको थियो। भिडिओ कलमा आफ्नो परीक्षा राम्रो भएको भन्दै परिवारमा थप आशा र भरोसा जगाएका थिए।

‘१२ कक्षा पास गरेको कान्छो छोरो विदेश जाने सोचमा थिए भने योगेन्द्र भने विदेश नजाने अडानमा थिए। उनको एक मात्रै सपना सरकारी अधिकृत बन्ने थियो,’ आमा लक्ष्मीले भक्कानिँदै सुनाइन्। 

चाडपर्व नजिकिँदै थिए। दसैँ मनाउन गाउँको घर फर्कने योगेन्द्रको योजना थियो। यता बुबाआमालाई छोरो भेट्ने उत्सुत्कता उत्तिकै थियो। तर, नियतिले परिस्थिति भयानक बनाइदियो। दसैँ, तिहार चाडबाड त आए तर योगेन्द्र आएनन्। 

योगेन्द्रको बुवाआमा अब आफ्नो घरमा चाडपर्वको उल्लास कहिल्यै नआउने दुखेसो गर्छन्।

योगेन्द्रको वियोगमा आफन्तको समेत अझैसम्म आँशु थामिएको छैन।

‘सरल स्वभावको मिहेनती थियो। अस्वस्थकर खानेकुरा आफू पनि खादैँनथे, अरूलाई पनि नखान सुझाउँथे। पढाइ अब्बल थियो। त्यस्तो घटना भयो। मन अझैसम्म पिरोलिन्छ,’ उनका आफन्त छत्रमाया न्यौपानेले भनिन्।

योगेन्द्रको स्वभाव भद्र भएको उनले बताइन्। राजनीतिमा खासै चासो नराख्ने, आफ्नो काम र पढाइमा मात्रै ‘फोकस’ हुने भजिता त्यो दिन कसरी आन्दोलनमा पुग्यो भनेर उनी आश्चर्य व्यक्त गर्छिन्। 

सहिद योगेन्द्रका बुबा युवराज न्यौपाने (उमेश) स्थायी शिक्षक हुन्। आमा लक्ष्मीले घरधन्दासँगै पसल चलाइरहेकी छन्।

राससकर्मी जेनजी आन्दोलनका सहिद योगेन्द्रका पिता भेट्न गोलञ्जोर गाउँपालिका-२ कुखुरेटारस्थित सुनकोसी प्राथमिक विद्यालय पुग्दा उमेश पढाउँदै थिए। 

केही समयको भेटमा उनले भने, ‘भदौ २३ गतेको जेनजी आन्दोलनको सुरुमै मेरो जेठो छोरो योगेन्द्र सहिद भयो। उसले जे उद्देश्य लिएर आन्दोलन गर्‍यो, देशका निम्ति रगत बगायो। त्यो रगतको मूल्य राज्यले बुझ्नुपर्छ।’

उनको बुझाइमा जेनजी आन्दोलन राष्ट्रका लागि नै थियो। जेनजीहरूले देश ‘ट्रयाक्क’भन्दा बाहिर गयो, ‘ट्रयाक्क’मा आउनुपर्छ भनेर आन्दोलन गरेका थिए। जेनजीले गरेको आन्दोलन देशमा मौलाउँदै गएको विकृति, विसङ्गती र बेतिथिविरुद्ध थियो। जेनजी आन्दोलनले देखाएको मार्गलाई राज्यले आत्मसाथ गर्नुपर्ने बुबा युवराजको तर्क छ।

उनका अनुसार सहिदले बनाएको रगतको मूल्य बुझ्न नसक्ने हो भने आगामी पुस्ताले फेरि त्यही गल्ती दोहोर्‍याउनुपर्ने अवस्था आउन सक्छ।

‘हाम्रा बाबुहरूले जस्तै अरू नयाँ युवाले रगत बगाउन नपरोस्,’ उनले भने।

राज्यले जेनजी आन्दोलनको सार बुझेर परिर्वतनको आधार तयार नगरेसम्म जेनजी आन्दोलनका सहिदहरूको आत्माले शान्ति प्राप्त नगर्ने उनको भनाइ छ।

जेनजी आन्दोलनका सहिदका परिवारलाई सरकारले केही दिएको छ। तर त्यतिले नपुग्ने सहिदका परिवारको भनाइ छ।

सङ्घीय सरकारले जेनजी आन्दोलनमा साहदत प्राप्त गर्ने सहिदहरूको सालिक, स्मारक निर्माण गर्नुपर्ने, जेनजी आन्दोलन स्मरण दिवसलाई सार्वजनिक विदा घोषणा गर्नुपर्ने र सहिदका परिवारलाई रोजगारीको व्यवस्था हुनुपर्ने माग पीडित परिवारको छ।

जेनजी आन्दोलनका क्रममा योगेन्द्रसहित सिन्धुलीका तीन जनाले ज्यान गुमाएका छन्। तीनपाटन गाउँपालिका-६ भलायोडाँडाँका १९ वर्षीय दिपेश सुनुवार भदौ २४ गते बानेश्वरमा भएको आन्दोलनकै क्रममा गम्भीर घाइते भएका थिए। उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा महाराजगन्ज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

सिन्धुलीको दुधौली नगरपालिका-८ घर भएका प्रहरी सहायक निरीक्षक मिलन प्रहरी वृत्त महाराजगन्जमा अपराध अनुसन्धान तथा कारबाही शाखामा काजमा कार्यरत थिए। ३० वर्षीय मिलनलाई २४ भदौमा सादा पोसाकमै रहेका बेला प्रदर्शनकारीले डीएसपी भन्दै कुटेर हत्या गरे।

जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई राज्यले सहिद घोषणा गरेको तीन महिना पुगिसकेको छ। तर, आजका दिनसम्म त्यी सहिदको सम्झानामा जिल्ला तथा पालिकास्तरमा कुनै पनि गतिविधि नभएको सहिदका परिवारको गुनासो छ।

सहिदका परिवारका अनुसार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा एउटा ‘जेनजी सहिद स्मारक पार्क’ निर्माण गरी तीन सहिदका सालिक  स्थापना गरिनुपर्छ।

स्थानीय तहको भूमिकालाई जोड दिँदै पालिकाले पनि आफ्नो ठाउँमा शालिक निर्माण र जेनजी आन्दोलनको दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउनु पर्ने माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad