एम्नेस्टी इन्टरनेसनलले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन नियन्त्रणका क्रममा भएका मानवअधिकार उल्लङ्घनबारे प्रतिवेदन सार्वजनिक गरेको छ।
सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले शान्तिपूर्ण भेला गरिरहेका युवामाथि गरिएको बल प्रयोग मानव जीवनप्रति निष्ठुर बेवास्ता रहेको टिप्पणी गरे।
उनले जिम्मेवार सबैलाई पद वा हैसियतको प्रवाह नगरी निष्पक्ष प्रक्रियाबाट कारबाहीमा ल्याउनुपर्नेमा जोड दिए।
शान्तिपूर्ण प्रदर्शनमा सुरक्षा निकायद्वारा अत्यधिक बल प्रयोग, गैरकानुनी हत्या र घाइते हुने घटनाले अन्तरराष्ट्रिय मानवअधिकार मापदण्ड उल्लङ्घन गरेको स्पष्ट देखाइएको प्रतिवेदनमा उल्लेख छ।
भदौ २३ गते काठमाडौँमा कम्तीमा १९ जनाको मृत्यु र ३०० भन्दा बढी घाइते भएको प्रतिवेदनमा उल्लेख छ। त्यसपछिका अशान्तिमा देशभर ७६ जनाको मृत्यु र दुई हजारभन्दा बढी घाइते हुने अवस्था सिर्जना भएको पनि उल्लेख गरिएको छ।
प्रतिवेदनमा प्रत्यक्षदर्शीको बयान, तस्बिर र भिडियो प्रमाण, चिकित्सक र पत्रकारसँगको अन्तर्वार्ताका आधारमा निष्कर्ष निकालिएको जनाइएको छ।
प्रतिवेदनमा प्रदर्शनका क्रममा मारिएका र घाइते युवाहरूलाई न्याय दिलाउन सरकारसँग आह्वान गर्दै विरोध व्यवस्थापनसम्बन्धी कानुन र अभ्यासलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार सुधार गर्न सुझाव दिइएको छ।
Shares

प्रतिक्रिया