सुखदुःख जिन्दगी चलिरहेकै थियो। तेमाल गाउँपालिका–७ काभ्रेपलाञ्चोकका दिलनारायण तामाङ (४२ वर्ष) र बुद्धिमाया दम्पत्तिले दुई छोराहरूलाई सिठोपिठो ख्वाएरै भएपनि पढाइरहेका थिए।
दश वर्षअघि गाउँबाट काम खोज्दै तामाङ दम्पत्ति लालाबाला च्यापेर ललितपुरको च्यासल आइपुगेका थिए। जसको मुख्य उद्देश्य आफ्ना दुई सन्तानलाई शिक्षादीक्षा दिलाउनु थियो।
‘जिन्दगी सधैँ एकनास कहाँ हुँदो रहेछ र’, बुद्धिमायाले भदौ २३ गते सम्झँदै भनिन्, ‘त्यही दिन हाम्रो जीवनमा अन्धकार बनेर आयो। त्यसयता केही सोच्नै सकिरहेकी छुइन।’
दिलनारायण डकर्मीको रुपमा मजदुरी गर्थे। छोराहरू निशान र सोहन कोठा नजिकैको श्रीशान्ति विद्याश्रममा पढ्थे। गएको वर्षदेखिमात्रै बुद्धिमायाले थापाथलीस्थित एक कम्पनीको कार्यालयमा सहयोगीको काम पाएकी थिइन्। सानै भएपनि श्रीमतीलाई रोजगारी मिलेपछि दिलनारायणको सपना पनि विस्तारै फूल्दो थियो।
गत भदौ २३ गतेका दिन दिलनारायणको कतै मजदुरीमा जानुपर्ने थिएन। काम नभएकाले घरमै थिए। छोरा सोहनको जुत्ता फाटेकाले बिहानै नयाँ किनेर ल्याइदिए। त्यसपछि बुद्धिमायालाई खाना पकाएर टिफिन बट्टामा हालिदिए। श्रीमती टिफिन लिएर अफिस हिँडेसँगै उनले छोराहरूलाई खाना खुवाएर विद्यालय पुर्याए।
बानेश्वरमा जेनजीले भ्रष्टाचारको विरोध, सुशासन, राजनीतिमा पुस्तान्तरण र निष्क्रिय तुल्याइएको सामाजिक सञ्जाल सञ्चालनको माग राखी विरोध प्रदर्शनी गरिरहेको थियो। आन्दोलनबारे थाहा पाएपछि बुद्धिमायाले फोन गरेर ‘छोराहरूलाई त्यहाँ जान नदिनु है, आफू पनि नजानु’, भनिन्।
एक्कासी मध्यान्ह ३ बजेतिर श्रीमानकै मोबाइलबाट तुरुन्त अस्पताल आउनु भनेर बुद्धिमायालाई फोन आयो। अनि उनी आत्तिँदै अस्पताल पुगिन्। त्यहाँ विनोद महर्जन र योगेन्द्र न्यौपानेसँगै उनको पनि शव रहेछ। उनले श्रीमान्को शव हेर्न सकिनन्। ‘त्यसपछि म आफैँ बेहोसझैँ भएछु’, उनले भनिन्, ‘मैले जहाँ नजानु भनेको थिएँ, उहाँ त्यहीँ पुग्नुभएछ।’
मजदुरी गरेपनि दिलनारायण राजनीतिक रुपमा सचेत थिए। ज्ञानबहादुर र चिनीमायाका जेठा छोरा दिलनारायण सानैदेखि आँटिलो थिए। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्धमा जनसेनाका रुपमा जनयुद्धमा होमिएका उनी विस्तृत शान्ति सम्झौतापश्चात् वैदेशिक रोजगारीमा ओमान गएका थिए।
बुद्धिमाया पनि भैरहवा–सुनौली हुँदै दिल्लीबाट घरेलु कामदारका रुपमा ओमान पुगेकी थिइन्। त्यहीँ भेटघाटका क्रममा बुद्धिमायासँग दिलनारायणको चिनजान भयो। त्यही चिनजान प्रेममा परिणत भयो।
होची कदकी बुद्धिमाया अग्लो, बलियो र साहसिक युवा दिलनारायणप्रति आकर्षित भइन्। अनि झागिँदै गएको प्रेमसम्बन्धलाई उनीहरूले बिहेमा परिणत गर्ने निधो गरे। दुवै जना नेपाल फर्किए। काभ्रेका दिलनारायण र सिन्धुपाल्चोककी बुद्धिमायाबीच विवाह भयो। दुई छोरा जन्मिए।
गाउँको अन्नपातले वर्षदिन खान लाउन र छोराछोरी पढाउन कठिन भएपछि उनीहरू काठमाडौँ सहर पसेका थिए। तर आफूसँगै बालबच्चाको भविष्य खोज्दै सहर छिरेको एक दशकपछि दिलनारायणले देशका लागि ज्यान गुमाए।
आन्दोलन भनेपछि होमिइहाल्ने स्वभावका तामाङ श्रीमतीले आन्दोलनमा नजानुभन्दा ‘किन डराउने र देशका लागि ज्यान दिनुपर्छ’ भन्ने जवाफ दिन्थे। देशका राजनीतिक गतिविधि समेटिएका समाचार हेर्ने र सुन्ने सहिद तामाङको स्वभावले खरो र देशभक्ति उँचो थियो।
बुद्धिमाया भक्कानिँदै भन्छिन्, ‘हरेक पलपल उहाँको याद आउँछ। घरायसी कामकाजसँगै खाना पकाउने मात्र होइन, लुगा पनि उहाँले नै धोइदिनुहुन्थ्यो। त्यो दिन पनि लुगा धुनुभएको रहेछ।’
अब भ्रष्टाचारीलाई कारबाही गर्ने र सुशासन कायम गराउने सन्दर्भमा पुनः यस्तो आन्दोलन गर्न नपरोस् भन्दै उनले भनिन्, ‘देशको भाग्य र भविष्य परिवर्तन होस्, राम्रो होस्, हाम्रा जस्तो दुःख अरूले भोग्न नपरोस्।’ ओमानमा जोडिएको दिलनारायण र बुद्धिमायाको प्रेम बानेश्वरमा चलेको गोलीले सधैँका लागि टुटायो।
सहिद भएकै दिन नयाँ जुत्ता किनेर ल्याएका दिलनारायणलाई उनका छोरा सोहनले बिर्सने कुरै भएन। ‘राम्रोसँग पढ, डाक्टर हुनुपर्छ’, भनेर बुवाले भन्नुभएको वाक्य अझै सोहनको कानमा गुन्जिरहेको छ।
दिलनारायणलाई सम्झँदै दाजु विद्यासागर भन्छन्, ‘च्यासलमा पछिल्लो समय डकर्मीको काम गर्थ्यो, साहसिलो र निडर स्वभाव भएकाले सङ्कटकालमा माओवादी लडाकु भएर युद्ध लडेको थियो।’
जेनजी आन्दोलनको बलमा गठित सुशीला कार्की सरकारले दिलनारायणसहित आन्दोलनमा सहादत गरेका ४५ जनालाई सुशासन योद्धा २०८२ घोषित गरेको छ। सहिद घोषणा गरेपछि परिवारलाई दिइने १५ लाख र काजक्रिया बापतको रकम श्रीमतीले प्राप्त गरेकी छन्।
उक्त रकम मात्र सहिद परिवारका लागि पर्याप्त होइन। सहिदका सपना पुरा गर्दै दिलनारायणजस्तै सहिद परिवारको भविष्यबारे पनि सरकारले सोच्नुपर्ने छ।
Shares

प्रतिक्रिया