कृषि तथा पशुपन्क्षी विकासमन्त्री मदन परियारले नेपालमा मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको बताएका छन्।
शुक्रबार ललितपुरमा आयोजित प्रथम बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन, २०८२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपालका सुन्दरतम तालतलैयाहरू र पर्यावरणमा मिचाहा प्रजातिले ठूलो असर गरेको उल्लेख गरे। चरणक्षेत्रहरूमा गन्धेझारहरूले वस्तुभाउको बासस्थान ध्वस्त पारेको र राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्सानी गरेको जिकिर गरे।
जसले वन्यजन्तु संरक्षित क्षेत्र भन्दा बाहिर आइ मानव—वन्यजन्तु द्वन्द्व बढेको उनको भनाई छ। मिचाहा वनस्पती वनभित्र सुख्खा याममा वन डढेलोको प्रमुख कारक भएको उल्लेख गरे।
उनले भने, ‘नेपालमा पनि मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको छ। हाम्रा सुन्दरतम तालतलैयाहरु, जलकुम्भीले यसले पर्यावरणीय क्षति गरेको छ। चरणक्षेत्रहरुमा पार्थेनियम र गन्धेझारहरुले वस्तुभाउको बासस्थान ध्वस्त पारिसकेको छ। हाम्रा राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्शानी गर्नुका साथै बासस्थान नोक्शानी गरेको छ । जसले गर्दा वन्यजन्तु संरक्षित क्षेत्र भन्दा बाहिर आइ मानव-वन्यजन्तु द्वन्द्व बढेको छ। वनभित्र सुख्खा याममा मिचाहा वनस्पती, वन डढेलोको प्रमुख कारक भएको छ।’
मन्त्री परियारले बाह्य मिचाहा प्रजातिले स्थानीय जैविक विविधता, पारिस्थितिक प्रणाली, कृषि उत्पादन तथा पशुपालन र मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको बताए। मिचाहा प्रजातिले पार्ने नकारात्मक प्रभाव वर्षेनी बढ्दै गएको उनले स्पष्ट पारे।
Shares

प्रतिक्रिया