सरकारले १० वर्ष उमेर समूहका ३ लाख किशोरीहरूमा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाउने निर्णय गरेको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरी ३ लाख किशोरीमा खोप लगाउने निर्णय भएको जनाएको छ।
महाशाखाका खोप शाखा प्रमुख डा अभियान गौतमले कक्षा ६ मा पढ्ने १० वर्षका किशोरीहरूलाई खोप लगाउने निर्णय भएको जनाए।
माघको अन्तिमदेखि विद्यालयहरूमा खोप कार्यक्रम सञ्चालन गर्ने उनले बताए।
‘यस वर्षदेखि एचपीभी खोपलाई नियमित राष्ट्रिय खोप तालिका अन्तर्गत राख्ने निर्णय भएको छ। ६ कक्षामा पढ्ने १० वर्ष उमेर समूहका किशोरीहरूले खोप लगाउन सक्ने छन्। अब एचपीभी खोप समेत जोडेर ११ प्रकारका खोप राष्ट्रिय खोप तालिका अन्तर्गत दिन्छौँ,’ उनले भने।
महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरबाट बचाउन सरकारले गतवर्ष १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीहरूमा एचपीभी खोप लगाएको थियो। यस वर्षदेखि भने राष्ट्रिय खोप तालिकामा राखेर खोप लगाउने निर्णय भएको महाशाखाले जनाएको छ।
ह्युमन पापिलोमा भाइरसका कारण लाग्ने पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुने अनुमान गरिन्छ। डा महिलाहरूमा हुने क्यान्सरको मृत्युको कारण मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको तथ्यांकले देखाएको गौतमले बताए।
महिलाहरूमा क्यान्सरको जोखिम बढेपछि रोकथामका लागि राष्ट्रिय खोप तालिकामा राखिएको डा गौतमले जनाए।
यौन सम्पर्कबाट सर्ने यस भाइरस शरीरमा प्रवेश गरेपछि तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्त अल्पता हुने र कमजोर महसुस हुने जस्ता लक्षण देखिने गरेको छ।
Shares

प्रतिक्रिया