गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका-११ मा निर्माणाधीन भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मंगलबार स्थलगत निरीक्षण गरेका छन्।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा सुर्खेत आइपु्गेका मन्त्री अर्यालले आयोजनाको भौतिक तथा वित्तीय प्रगति, साथै प्राविधिक र प्रशासनिक समस्याबारे जानकारी लिएका हुन्।
निरीक्षणका क्रममा मन्त्री अर्यालले आयोजनामा देखिएका कानुनी अप्ठ्यारा फुकाउन सरकार सक्रिय रहने र बाँकी काम समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
उनले लामो समयदेखि अघि बढिरहेको यो राष्ट्रिय गौरवको आयोजना छिट्टै सम्पन्न भए कर्णाली, तराईसहित समग्र देशमा आर्थिक, ऊर्जा र सिँचाइ क्षेत्रमा ठूला परिवर्तन देखिने बताए।
आयोजनाका वरिष्ठ डिभिजन इन्जिनियर भरत पाठकका अनुसार हालसम्म आयोजनाले ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।
१२ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको र हाल इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलका काम बाँकी रहेकाले आयोजना ढिलाइ भएको उनले जानकारी दिए।
निरीक्षणमा गृह सचिव रामेश्वर दंगाल, सहसचिव आनन्द काफ्ले, सूचना अधिकारी तथा उपसचिव रमा आचार्यसहित गृहमन्त्रीको निजी सचिवालयका सदस्यहरू सहभागी थिए।
Shares

प्रतिक्रिया