समाज


मुटुरोगको ९५ प्रतिशत उपचार नेपालमै सम्भव

मुटुरोगको ९५ प्रतिशत उपचार नेपालमै सम्भव

नेपालखबर
पुस १६, २०८२ बुधबार १९:५५, काठमाडौँ

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालमा मुटुरोगका करिब ९५ प्रतिशत उपचार स्वदेशमै सम्भव भइसकेको बताएका छन्। बुधबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्।

डा. भट्टराईका अनुसार बाँकी पाँच प्रतिशत उपचार, विशेषगरी मुटु प्रत्यारोपण (हार्ट ट्रान्सप्लान्ट) र कृत्रिम मुटु जडान सेवा भने अझै सुरु हुन सकेको छैन। यसका लागि आवश्यक अधिकांश कानुनी प्रक्रिया पूरा भइसके पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अस्पताललाई दिनुपर्ने लाइसेन्स नआएकाले सेवा सुरु हुन नसकेको उनले बताए।‘स्वास्थ्य मन्त्रालयले लाइसेन्स दिए लगत्तै सेन्टरबाट हार्ट ट्रान्सप्लान्ट र आर्टिफिसियल हार्ट जडान सेवा सुरु गर्न सकिन्छ,’उनले भने।

नेपालमा क्षयरोग, डेङ्गु र डायरिया सबैभन्दा बढी देखिने रोग भएको उल्लेख गर्दै उनले फोक्सोसम्बन्धी रोग पनि चुनौतीकै रूपमा रहेको बताए। स्वास्थ्य क्षेत्रमा नेपालले कुष्ठरोग उन्मूलन गर्न सफल भएको र कालाजारको प्रकोप उल्लेखनीय रूपमा घटेको जानकारी दिँदै उनले देशव्यापी खोप कार्यक्रमलाई प्रमुख उपलब्धि माने।

डा. भट्टराईले डेङ्गु अझै गम्भीर चुनौतीका रूपमा रहेको र हरेक वर्ष यसका कारण धेरै नागरिकले ज्यान गुमाउने गरेको बताए। साथै, जलवायु परिवर्तनका कारण नयाँ रोगहरू देखा पर्न थालेको र एन्टिबायोटिकले समेत काम नगर्ने अवस्था बढ्दै गएकाले चिकित्सकको परामर्शबिनै औषधि प्रयोग रोक्न कानुनी व्यवस्था आवश्यक रहेकोमा उनले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad