समाज


सर्लाहीमा वन हेरालुको हत्या: अझै फेला परेन मृतकको टाउको

सर्लाहीमा वन हेरालुको हत्या: अझै फेला परेन मृतकको टाउको

नेपालखबर
पुस २०, २०८२ आइतबार ९:१९, काठमाडौँ

सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत वन हेरालुको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले केही स्थानीयलाई पक्राउ गरेको छ। तर, प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन। 

शनिबार साँझ ईश्वरपुर नगरपालिका–२ राइटरखोर निवासी ४७ वर्षीय रामईश्वर महतोको टाउको बिनाको शव गाउँ नजिकैको जंगलमा भेटिएको थियो। उनी परियोजनाका वन हेरालु मजदुर हुन्। 

‘हामीले घटनाको अनुसन्धान गरिरहेका छौँ,’ सर्लाहीका डीएसपी सरोज राईले नेपालखबरसँग भने, ‘अहिलेसम्म मृतकको टाउको भेटिएको छैन। नजिकै रहेको पोखरीमा टाउको फालेको आशंकामा हामी खोजीमै छौँ।’ 

शनिबार बिहान घरबाट काममा निस्किएका वन हेरालुको टाउको काटिएको अवस्थामा शनिबार साँझ शव भेटिएको हो। 

अब पोखरीमा जाल हानेर टाउको खोजी गरिने डीएसपी राईले बताए। ‘हामी पोखरीमा जाल हान्ने मान्छे खोजिरहेका छौँ,’ उनले भने। 

शव नजिकै रगत लतपलिटएको बञ्चरो पनि फेला परेको छ।  घटनास्थलको प्रकृति हेर्दा त्यही बञ्चरोले घाँटी गिँडेको जस्तो देखिने प्रहरीले जनाएको छ। 

घटनाको जानकारी पाएपछि डीएसपी राई, इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका इन्स्पेक्टर नितेशकुमार सिंह, वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीसहित ठूलो संख्यामा स्थानीय र प्रहरी टोली शनिबार साँझ नै घटनास्थलमा पुगेका थिए। 

घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त दुईवटा कुकुरसमेत झिकाएर अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए। 

घरदेखि करिब पाँचसय मिटर पर सागरनाथ वन विकास परियोजनाको १० नम्बर प्लटको बाटोदेखि अन्दाजी एकसय मिटर पूर्वतर्फ झाडीमा टाउको नभएको अवस्थामा चौकीदार महतोको शव फेला परेको हो। खोजी गर्ने क्रममा सुरुमा महतोकै ज्वाइँ वीरबहादुर सिंहले शव भेटेका थिए। 

शनिबार बिहान ५ बजेतिर जंगलभित्र रुख काटेको आवाज सुनेपछि चौकीदार महतो साइकल चढेर त्यसतर्फ गएका थिए। 

उनी साँझसम्म पनि घर फर्किएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए। उनको फोनसमेत स्वीच अफ छ। 

प्रहरीले टाउको बिनाको शव पोस्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा लगेको छ। घटनास्थलमा बिहानैदेखि ठूलो संख्यामा स्थानीय भेला भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad