समाज


माथिल्लो डोल्पाका चार हजार मतदाता मतदानबाट वञ्चित हुँदै

माथिल्लो डोल्पाका चार हजार मतदाता मतदानबाट वञ्चित हुँदै

डोल्पा


नेपालखबर
पुस ३०, २०८२ बुधबार १५:५९, (ठूलीभेरी) डोल्पा

आगामी फागुन २१ गते निर्वाचनमा माथिल्लो डोल्पाका चार हजार ३६६ मतदाता मतदान गर्नबाट वञ्चित हुने अवस्था देखिएको छ।

हिमाली जिल्ला डोल्पा भौगालिक रुपमा विशाल र विकट छ। माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, छार्काताङसोङ गाउँपालिका र डोल्पोबुद्व गाउँपालिकाभित्र बसोबास गर्ने बासिन्दा कात्तिकको अन्तिमदेखि चैतको अन्तिमसम्म मौसमी बसाइँसराइ गरी तल्लो डोल्पालगायत तराईका विभिन्न स्थानमा बसोबास गर्ने गर्दछन्।

डोल्पाको उच्च भेगमा हिउँदमा हिमपातसँगै अत्यधिक जाडो हुने भएको हुँदा यहाँका बासिन्दा करिब पाँच महिना गाउँ छाड्ने गर्दछन्। माथिल्लो डोल्पाका सबै नागरिक तराई तथा अन्य विभिन्न स्थानमा झरेका छन्। यो समय गाउँमा कुनै पनि मतदाता छैनन्। कात्तिक–मङ्सिरमा परेको हिमपातले माथिल्लो डोल्पाका सबै नाका बन्द छन्। 

मतदाता गाउँ तथा मतदानस्थलमा जानसक्ने अवस्था छैन। यदि फागुन २१ मा निर्वाचन हुने हो भने राज्यले वैकल्पिक उपाय बनाइदिनुपर्ने अवस्था आएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्दुक गुरुङले बताए। माथिल्लो डोल्पाका नागरिक पनि राज्यका नागरिक भएको हुँदा मतदान गर्ने वातावरण बनाउन पनि अध्यक्ष गुरुङले आग्रह गरे।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोल्पाबाट जम्मा २४ हजार ११५ ले मतदान गर्न पाउने भएका छन्। जिल्ला निर्वाचन कार्यालयले दोहोरिएका, मृत्यु भएका, बसाइँसराइ गरेकालगायतका मतदाता नामावली अध्यावधिकपछि अन्तिम नामावली सार्वजनिक गरेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ रहेको डोल्पामा आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि २४ हजार ११५ मतदाताले मतदान गर्न पाउने छन्। डोल्पाको त्रिपूरासुन्दरीमा सबैभन्दा धेरै मतदाता रहेका छन् भने सबैभन्दा कम मतदाता छार्काताङसोङ गाउँपालिकामा रहेका छन्।

त्रिपूरासुन्दरीमा छ हजार ८०५ मतदाता रहेका छन्। ठूलीभेरी नगरपालिकमा पाँच हजार ४७५ मतदाता रहेका छन्। मुड्केचुला गाउँपालिकामा तीन हजार २८५ मतदाता रहेका छन्। जगदुल्ला गाउँपालिकामा एक हजार ७८४ मतदाता रहेका छन्। 

यस्तै काइके गाउँपालिकामा दुई हजार ४०० मतदाता रहेका छन्। शे–फोक्सुण्डो गाउँपालिकामा दुई हजार १३० मतदाता रहेका छन्। डोल्पोबुद्व गाउँपालिकामा एक हजार २५३ मतदाता रहेका छन्। छार्काताङसोङ गाउँपालिकामा ९८३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad