काठमाडौँ उपत्यकामा पनि आज (सोमबार) बिहानैदेखि हुस्सु लागिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले काठमाडौँ उपत्यकामा भिजिबिलिटी (पारदर्शिता) कम छ।
‘यतिबेला काठमाडौँ उपत्यकामा भिजिबिलिटी २ हजार मिटर मात्र छ’, सोमबार बिहान १०:२० बजेतिर उनले नेपालखबरसँग भने, ‘यसले सर्वसाधारण र सडक यातायातलाई कुनै फरक पार्दैन तर हवाई उडानमा समस्या हुन सक्छ।’
मौसमविद् पुडासैनीका अनुसार हुस्सु बिस्तारै हटे पनि आज काठमाडौँ उपत्यकाको मौसम छ्याङ्ग भएर उघ्रिने सम्भावना कम छ।
‘किनभने यहाँको मौसम पनि अहिले साधारणतया बदली छ अर्थात् बादल लागेको छ’, उनले भने।
आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना भने नदेखिएको मौसमविद् पुडासैनीले बताए।
मौसम महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।
अनि अहिले काठमाडौँसहित देशका विभिन्न उपत्यका र तराईका धेरैजसो स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ। हिमाली तथा उच्च पहाडी क्षेत्रमा भने मौसम आंशिक बदली आकाशमा (पातलो बादल) छ।

मौसम महाशाखाले चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु/कुहिरोको सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ।
आजको मौसमबारे यस्तो छ प्रक्षेपण
दिउँसोः तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा मौसम साधरणतया बदली (आकाशमा बादल) हुनेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति: तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागमा मौसम साधरणतया बदली हुनेछ र बाँकी भूभागमा मौसम आंशिक बदली हुनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
Shares

प्रतिक्रिया