समाज


अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल

अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल

नेपालखबर
माघ २८, २०८२ बुधबार १२:५३, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितलाई हत्या गर्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। 

इन्टरपोलको सहयोगमा फिलिपिन्समा पक्राउ परेका पाठकलाई बुधबार नेपाल ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताए। 

उनलाई पुस १६ गते फिलिपिन्सको राजधानी मनिलामा पक्राउ गरिएको थियो। पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स पुगेको थियो। 

अगस्ट १८ मा फिफिलिपिन्स गएका उनले त्यहीँबाट नेपालका उच्च पदस्थहरूलाई ज्यान मार्ने धम्की दिएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धानको क्रममा उनी फिलिपिन्समा रहेको पत्ता लगाउँदै नेपाल ल्याउनका लागि इन्टरपोल शाखामार्फत प्रक्रिया अगाडी बढाएको थियो। 

अब उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउने तयारी छ।

पाठकले अख्तियार प्रमुख  राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए। धम्कीसहितको पत्र अख्तियारमै पुगेको र भिडिओसमेत सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको थियो।

उनका ३ जना सहयोगीलाई भने प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। उनीहरूले आफूहरू प्रकाशको बडिगार्ड भएको बताएका थिए।
आफूलाई उग्रवादी समूह ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’को अध्यक्ष भन्ने पाठकले पठाएको पत्रमा अख्तियार प्रमुख राईसहित १० जनाको ज्यान लिने चेतावनी दिएका थिए। 

उक्त सूचीमा अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा जोडिएका तीन जना पूर्वप्रहरी प्रमुख ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरी समेत छन्। 

यस्तै कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पनि चेतावनी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad