समाज


बुवाको पहिचान नभएका सुवासले निवेदन दिएको ११ वर्षपछि पाए आमाको नामबाट नागरिकता

बुवाको पहिचान नभएका सुवासले निवेदन दिएको ११ वर्षपछि पाए आमाको नामबाट नागरिकता

मंगलबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यबाट नागरिकता लिँदै २७ वर्षीय सुवास घिमिरे। साथमा आमा कमला।


नेपालखबर
माघ २८, २०८२ बुधबार १५:१, काठमाडौँ

म्याग्दीको बेनी नगरपालिका-२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतीक्षापछि नागरिकता प्राप्त गरेका छन्।

म्याग्दी जिल्ला प्रशासन कार्यालयबाट २७ वर्षीय घिमिरेले मंगलबार नागरिकता पाएका हुन्। 

बुवाको पहिचान नभएका कारण घिमिरेले नागरिकता पाउन सकेका थिएनन्। 

१६ वर्षको हुँदादेखि गरेको प्रयास मंगलबार सफल भएकामा घिमिरेले खुसी व्यक्त गरे। 

सुवासलाई उनकी आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए।

नागरिकताका लागि सुवासले तीन वर्षअघि सबै प्रक्रिया पूरा गरेर आवेदन दिएका थिए।

नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन २०८२ तथा नियमावलीको चौथो संशोधन, २०८२ अनुसार सुवासलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

नागरिकता पाएपछि बल्ल नागरिक भएको महसुस भएको सुवासले बताए।

शारीरिक अपांगतासमेत भएका सुवास नागरिकता नहुँदा सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भइरहेका थिए।

रोजगारीको अवसर र बैंक खाता सञ्चालन गर्न नपाउँदा उनलाई समस्या भइरहेको थियो। 

सुवास र उनकी आमा कमला आफन्तको घरमा आश्रयमा छन्। सुवास कमलाका कान्छा छोरा हुन्।

हाल भारतमा कार्यरत कमलाका जेठा र माइला छोराले भने नागरिकता बनाइसकेका छन्।

साइँला छोराले भने अझै नागरिकता पाएका छैनन्।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो।

यसअघि बेनीका मिर खान, यास्मीन बेगम र मालिका गाउँपालिका-५ देवीस्थानकी सीमा पुनलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो।

थप केही सेवाग्राहीले आमाको नामबाट नागरिकता निकाल्न आवेदन दिएका छन्।

प्राप्त आवेदन छानबिन र आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता प्रदान गरिने सहायक प्रखुख जिल्ला अधिकारी आचार्यले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad