सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
इटालीमा बनेको पेस्तोल र तीन राउन्ड गोलीसहित भारतको अररिया ग्राम पंचायत–४ बस्ने ३६ वर्षका राम थेलन पासवानलाई सुनसरी गाउँपालिका –३ जमुवास्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेशले शुक्रबार साँझ पक्राउ गरेको हो।
भारतीय नम्बरप्लेटको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ग्राम, नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३ सय ८० र मोटरसाइकल समेत बरामद भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
नियन्त्रणमा लिइएका पासवानलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ।
यसैबिच निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनीका बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक मनीष थापाले निर्देशन दिएका छन्।
सिमानाकामा चेकजाँचलाई तीब्रता दिएको सहप्रवक्ता थापाले बताए।
डीआइजी थापाले इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका सीमा नाकामा स्थलगत अनुगमन गर्दै सीमाबाट हुने अवैध क्रियाकलापमा निर्मम ढंगले लाग्न मातहत सबै युनिटलाई निर्देशन दिएका छन्।
Shares

प्रतिक्रिया