समाज


बालेनको थर विवादमा तुलानारायणको अनुभूति- म कसरी ‘साह’बाट ‘शाह’ भएँ?

बालेनको थर विवादमा तुलानारायणको अनुभूति- म कसरी ‘साह’बाट ‘शाह’ भएँ?

नेपालखबर
फागुन ६, २०८२ बुधबार १८:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को थरलाई लिएर अहिले चर्चापरिचर्चा भइरहेको छ। 

काठमाडौँका निवर्तमान मेयर बालेनको नागरिकतामा रहेको थर र पछि प्रतिलिपि लिँदा बनाएको थर फरक रहेको उल्लेख गरिएको छ। पहिले ‘साह’ लेख्ने गरेका बालेनले पछिल्लो समय ‘शाह’ लेखेका छन्। 

उनको थरलाई लिएर टिकाटिप्पणी भएपछि राजनीतिक विश्लेषक तुलनारायण साहले कसरी थर परिवर्तन हुने गरेको छ भनेर लेखेका छन्। उनले आफ्नो थर पनि परिवर्तन भएको रोचक प्रसंग उल्लेख गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेको अनुभूति:

पत्रपत्रिकामा लेखिने लेख रचनामा म आफ्नो नाम ‘तुलानारायण साह’ लेख्छु। नागरिकतामा पनि त्यही लेखाउन चाहन्थेँ तर लेखिएको छ ‘तुला नारायण शाह’।

एसएलसीदेखिको प्रमाण पत्रहरुमा नेपाली भाषामा लेखिएका कुनै प्रमाण पत्रमा तुला नारायण शाह त कुनैमा तुलानारायण शाह लेखिएको छ। प्रायःजसो अँग्रेजी भाषामा लेखिएका प्रमाणपत्रहरूमा Tula Narayan Shahलेखिएको छ। तर यसको आफ्नै कथा छ, अहिले बालेनको थरको विवाद र मेरो थरको सवाल उस्तै मिल्न गएकोले थोरै रमाइलो र थोरै खिन्नता एकसाथ महसूस भइरहेको छ। 

मैले २०४३ सालमा एसएलसी परीक्षामा सामेल हुनलाई सप्तरीको डीमन  स्कूलबाट परीक्षा फारम भर्दा तुला नारायण साह लेखेको थिएँ। प्रवेश पत्रमा मेरो नाम त्यस्तै हुने नै भयो। रोल नम्बर चाही ०११३१८ ‘एच’ लेखेर आयो। जाँच दिएँ। 

उतिवेला ६ महिनामा रिजल्ट आउँथ्यो। तेस्रो डिभिजनमा उत्तीर्ण हुँदा पनि घरमा सत्यनारायण भगवानको चौपहरा पूजा गरिएको थियो। रातभरी चार प्रहरमा चार पटक गरिने पूजालाई चौपहरा पूजा भन्थे हाम्रो देहातको समाजमा। 

रिजल्ट आएको करिब एक महिनापछि स्कूलमा मार्कसिट आयो। ठूलो अंग्रेजी अक्षरमा लेखिएको त्यस मार्कसीटमा मेरो नाम TULA NARAYAN SHAH​ लेखिएको थियो। चारित्रिक प्रमाणपत्र लिने वेलामा किरानी सर पिताम्बर लाल दासले प्रश्न उठाउनुभयो, यो तेली जातको भएकोले थरमा ‘साह’ लेख्नुपर्ने हो तर त्यो लेखिँदा मार्कसिटभन्दा फरक हुन्छ, के गरुँ? 

कुरो हेडसर जनक किशोर लाल कर्णकहाँ पुग्यो। हेडसरले ‘शाह’ लेखेर दिन आदेश दिनुभयो। अनन्तः चारित्रिक प्रमाणपत्रमा मेरो नाम तुला नारायण शाह लेखियो। 

केही महिनापछि गाउँमा नागरिकता टोली खटेको थियो। सबै प्रमाणपत्र देखाएपछि नागरिकतामा पनि ‘शाह’ नै लेखेर दियो तर बुबाको नाममा फेरी ‘साह’ नै थियो, त्यही लेखियो। 

त्यस उप्रान्त म कुनै पनि प्रकारको सरकारी र शैक्षिक कागजातमा आफ्नो थरमा ‘शाह’ नै लेखिराखेको छु। छोराहरूको थरमा पनि त्यही लेखाएको छु, हिनताबोध भएर होइन हजुर, सरकारी झमेलामा नपरोस भनेर।

२०४९/५० सालतिर त्रिचन्द्र क्याम्पसमा पढदा क्याम्पसको ७५ जर्ष पुगेको उपलक्ष्यमा गोरखापत्रमा एउटा लेख बुझाइएको थिएँ। लेख त छापियो तर नाममा चाहीँ तुलानारायण श्रेष्ठ उल्लेख थियो। कन्टेन्ट पूरै मेरो नाम अर्कैको। तारा बराल प्रधान–सम्पादक हुनुहुन्थ्यो जस्तो लाग्छ। भोलिपल्ट छापिएको लेख र बुझाएको कन्टेन्ट लगेर देखाएपछि पर्सिपल्ट भुल सुधार छापिएको थियो, लेख छापिने पेजको पुछारमा। ‘साह’ हुनुपर्नेमा अन्यथा हुन गएको भनेर! 

काठमाडौँको मिडियमा आज पनि मधेसी थरका मानिसहरू थोरै लेख लेखेको पाइन्छ। उतिवेला त झनै झण्डै के अवस्था थियो हामी सबैले अनुमान लगाउने कुरा हो। मलाई लाग्छ, गोरखापत्रमा टाइप गर्नेलाई विश्वासै लागेको थिएन कि यो ‘साह’ थरको मानिसले त्रिचन्द्र कलेजकोबारे लेख लेखेको होला भनेर। यो विशुद्ध मेरो अनुमान हो। कारण अरु पनि हुनसक्छ। 

मेरो विचारमा यस्तो थर परिवर्तन वा हिज्जेमा गल्ती, नागरिकताको प्रकारमा फरक, जन्ममितिमा हेरफेर मधेसमा धेरैको होला। 

आज बालेनको थरबारे काठमाडौँको मिडियाले समाचार बनाएको छ, विभिन्न कोणबाट घोचपेच भइरहेको छ। मैले पनि अनेकौं पटक घोचपेच खेप्नुपरेको छ। कहिले परोक्ष त कहिले प्रत्यक्ष रुपमा। सबैलाई सँधै ब्याख्या गरिराख्न सम्भव हुँदैन। अहिले सन्दर्भ मिल्न गएकोले लेख्ने जमर्को गरेको हुँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad