विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
मोरङको पथरी शनिश्चरे नगरपालिका-६ जय चोकमा ट्याक्टरले अटो रिक्साले ठक्कर दिँदा १८ वर्षीय किशोरको मृत्यु भएको छ।
को.२ त ७८३८ नम्बरको ट्याक्टरले को. १ ह ६१२२ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालक सोही ठाउँ बस्ने १८ वर्षीय सुदिप थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ मा भएको सवारी दुर्घटनामा २१ वर्षीय युवकको मृत्यु भएको छ।
भोटेकोसी २ नौकिलोमा बा.प्र.०१- ०३० च. ३४८० नम्बरको बोलेरो गाडी कन्टेनर डिब्बाको टेलरमा ठोकिँदा बोलेरोमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय सुजन तामाङको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल शाखा अस्पताल हिन्दीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका गाडी चालकको बीएण्डबी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ।
त्यसैगरि रूपन्देहीको गैडहवा गाउँपालिका-७ छत्रपुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
लु.५ प ९८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सुकराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।
Shares

प्रतिक्रिया