सोमबार राति धादिङमा भएको बस दुर्घटनामा परेर गाडीधनी र बसका चालकको पनि मृत्यु भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालकाअनुसार दुर्घटनामा ज्यान गुमाउने तनहुँको व्यास गाउँपालिका- ४ का ४० वर्षीय ओम कुमार मल्ल गाडीधनी हुन्।
त्यसैगरि दुर्घटनामा परेको बसका चालक कास्कीको पोखरा महानगरपालिका- १९ का २६ वर्षीय सुजित नेपालीको पनि दुर्घटनामा मृत्यु भएको छ।
त्रिशूलीमा खसेको सपना: कसैले हातैमा श्रीमान गुमाए, कसैको कोरिया जाने रहर भाँचियो
‘दुर्घटनामा ज्यान गुमाउने गाडीधनी ओमकुमार मल्लकी पत्नी घाइते हुनुहुन्छ,’ डीएसपी दाहालले नेपालखबरसँग भने, ‘उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।’
सोमबार राति पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग.२ ख १४२१ नम्बरको बस राति साढे १ बजे धादिङको बेनिघाट रोराङ ५ भैसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भएको थियो भने २६ जना घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार मृतकमध्ये तीन जना विदेशी नागरिक रहेका छन्। २४ वर्षका बेलायती नागरिक स्टेवर्थ डोमिनिक इथान, भारतको उत्तर प्रदेशको बसहरि बहराइच घर भएका ३२ वर्षका मनिष सुक्ला र चिनियाँ नागरिक ४० वर्षकी झ्याङ चुनचुनको पनि मृत्यु भएको छ।


Shares

प्रतिक्रिया