समाज


काठमाडौँ उपत्यकामा खटिए थप ५ एसएसपी, हरेक निर्वाचन क्षेत्रमा पठाइयो एसपी

काठमाडौँ उपत्यकामा खटिए थप ५ एसएसपी, हरेक निर्वाचन क्षेत्रमा पठाइयो एसपी

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १६:३८, काठमाडौँ

आगामी फागुन २१ गतेको निर्वाचनका लागि काठमाडौँ उपत्यकाको सुरक्षाका लागि पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)र १५ जना प्रहरी उपरीक्षक (एसपी) लाई खटाइएको छ। 

काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमा तीन जना, ललितपुर र भक्तपुरमा एक एक जना एसएसपीलाई अनुगमनको जिम्मेवारी दिइएको हो। काठमाडौँका क्षेत्र नं १, २, ३ र ४ को जिम्मेवारी एसएसपी रमेशकुमार बस्नेतले पाएका छन्। 

हाल काठमाडौँ उपत्यका प्रहअरी कार्यालय रानीपोखारीमा कार्यरत एसएसपी बस्नेत यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए। एसपी हुँदा काठमाडौँ परिसरमा रहेर काम गरेका बस्नेतलाई महत्वपुर्ण चार वटा निर्वाचन क्षेत्रको जिम्मेवारी दिइएको हो। 

यस्तै काठमाडौँ क्षेत्र नं ५, ६ र ७ मा सोमेन्द्र सिंह राठौरले जिम्मेवारी पाएका छन्। राठौर पनि उपत्यका प्रहरी कार्यालय रानीपोखरीमै कार्यरत छन्। उनी पनि काठमाडौँ उपत्यकाको सुरक्षामा अनुभवि हुन्। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँमा काम गरिसकेका छन्। 

क्षेत्र नं ८, ९ र १० को सुरक्षा अनुगमनको जिम्मेवारी एसएसपी नवराज अधिकारीले पाएका छन्। अधिकारी हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख हुन्। निर्वाचनको अवधिमा उनलाई पनि तीन वटा क्षेत्रको अनुगमन गर्ने जिम्मेवारी दिइएको हो। 
अधिकारी यसअघि काठमाडौँ प्रहरी परिसर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेर काम गरेका थिए। 

ललितपुर र भक्तपुरमा पनि एक एक जना एसएसपी अनुगमनमा खटिनेछन्। ललितपुरमा एसएसपी सन्तोष खड्का र भक्तपुरमा प्रविण धिताललाई जिम्मेवारी दिइएको छ। खड्का काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख समेत हुन्। धिताल काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा छन्। नियमित सुरक्षाको जिम्मेवारी भने जिल्ला प्रहरी परिसरकै प्रमुखबाट हुनेछ। काठमाडौँमा एसएसपी रमेश थापा र ललितपुरमा एसएसपी होबिन्द्र बोगटी छन्। 

भक्तपुरमा एसपी सूर्यबहादुर खड्का प्रहरी प्रमुख छन्। नियमित सुरक्षा उनकै कमाण्डमा भएपनि निर्वाचनमा अनुगमन भने एसएसपी धितालले गर्नेछन्। 

यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालयले हरेक निर्वाचन क्षेत्रको अनुगमनका लागि पनि छुट्टा छुट्टै अधिकृतहरु खटाइएको छ। उपत्यकाका तीन जिल्लामा निर्वाचन सुरक्षाका लागि १५ जना एसपी खटाइएको छ। 

उपत्यकाका वृत्त डीएसपीको कमाण्डमा रहन्छन्। वृत्तहरुले आ आफ्नो क्षेत्रको नियमित सुरक्षा गर्नेछन्। तर एउटा भन्दा बढि कार्यालय रहने भएकाले समन्वयका लागि एसपी परिचालन गरिएको हो। 

जस अनुसार काठमार्डौँमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ जना एसपी खटाइएको छ। जिल्लामा रहेका एसपीले भने नियमित जिम्मेवारीमै रहनेछन्। 

निर्वाचनलाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले देशभर प्रहरीका उच्च सुरक्षा अधिकारीहरुलाई जिम्मेवारी तोकेको छ। उपत्यकाको सुरक्षा भने एआईजी ईश्वर कार्कीको कमाण्डमा हुनेछ। उनी उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad