नेपाल पत्रकार महासंघले प्रतिनिधि सभा निर्वाचनको समाचार संकलनमा प्रशासनिक झन्झट व्यहोर्नु परेको भनी देशभरबाट पत्रकार तथा सञ्चारगृहले गुनासो गरिरहेका बताएको छ।
मतदानको अघिल्लो दिनसम्म पत्रकार र सञ्चारगृहले सहज रूपमा जनता समक्ष सूचना पुर्याउने दायित्व पूरा गर्ने वातावरण नबनेकोमा महासंघले दुःख व्यक्त गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार विज्ञप्ति प्रकाशित गरी ‘पत्रकारलाई सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध सञ्चारगृह वा नेपाल पत्रकार महासंघको परिचयपत्रका आधारमा मतदान, मत गणनाको समाचार संकलन र त्यसका लागि सवारी साधनको पास तत्काल उपलब्ध गराउन’ निर्वाचन आयोग र नेपाल सरकारसँग जोडदार माग गरेका छन्।
‘पारदर्शी, स्वच्छ, निषपक्ष र स्वतन्त्र निर्वाचनका लागि नेपाली प्रेस जगतको भूमिका रहिआएको सन्दर्भमा प्रेसलाई आफ्नो दायित्व निर्वाहमा सहजीकरण र समन्वय गर्नु सम्बद्ध निकायको कर्तव्य हुन आउँछ’ महासंघले भनेको छ, ‘अन्यथा निर्वाचनप्रति नै आशंका सिर्जना हुन सक्नेतर्फ गम्भीर हुन महासंघ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछ।’
पत्रकारहरू समक्ष सुरक्षित रूपमा कार्यथलोमा खटिन र तटस्थता कायम राख्दै निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको परिपालना गर्न आह्वान पनि गरिएको छ।
Shares

प्रतिक्रिया