मंगलबार एकैदिन ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य छ। कसैमा पनि गम्भीर लक्षण देखिएको छैन।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा माघ ९ गते पुष्टि भएका पहिलो संक्रमितसँगै ३ जनाको सफल उपचार भइसकेको छ। उनीहरुमध्ये कसैलाई पनि कडा लक्षण नदेखिएको र अक्सिजन दिनुपर्ने, भेन्टिलेटर वा आईसीयुमा राख्नुपर्ने अवस्था नआएको अस्पतालका निर्देशक सागर राजभण्डारी बताउँछन्।
‘हामीले लक्षणअनुसार ज्वरो र खोकीको औषधि दिएका थियौं। तर, कसैलाई कडा किसिमको लक्षण देखिएन,’ निर्देशक राजभण्डारीले भने, ‘उनीहरुसँगै देशभरकै संक्रमितहरुको अवस्था सामान्य छ। नेपालमा कडा किसिमको संक्रमण नदेखिएको कारण अनुसन्धान नभई भन्न सकिन्न।’
स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत नेपालमा देखिएको कोरोना भाइरसको जिनेटिक अध्ययन गर्ने जनाएपनि त्यसमा खासै प्रगति भएको देखिदैँन।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मन्त्रालयले परिषदबाट भाइरको जिनको सिक्वेन्सिङ गर्ने काम अघि बढाएको छ।
‘यसले चीन तथा अन्य देशमा देखिएको भाइरस र नेपालमा देखिएको भाइरसको अवस्था के हो, भाइरस कस्तो हो भन्ने पत्ता लाग्छ,’ डा. देवकोटाले भने, ‘अध्ययनपछि भविष्यमा कस्तो असर हुन्छ, त्यसअनुसार योजना बनाउन सजिलो हुन्छ।’
अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार अनुसन्धानको फर्म्याट बनाएर स्वीकृतिका लागि पठाइएको छ।
‘हामीले अनुसन्धानको फर्म्याट बनाएर एथिकल फर्मेसनमा पठाएका छौं। त्यसको स्वीकृति भएर आएपछि अनुसन्धान सुरु हुन्छ,’ सदस्यसचिव ज्ञवालीले भने।
उनले भाइरसको जिन अध्ययनबिना यो अन्यत्रभन्दा फरक हो या होइन भन्न नसकिने बताए। मन्त्रालयको प्रक्रिया पूरा भएपछि आवश्यक जनशक्ति तथा स्रोतसाधन जुटाउँदा अध्ययनका लागि एकदेखि दुई महिनासम्म लाग्ने परिषदको अनुमान छ।
संक्रमितमा कडा लक्षण नदेखिनुका चार कारण
नेपालमा कडा खालको संक्रमण नदेखिनुमा विभिन्न कारण हुनसक्ने जनस्वास्थ्यविदको भनाइ छ। यद्यपि सबैले अनुसन्धान नभई ठोस कारण भन्न नमिल्ने बताए।
१) परीक्षण कम
टेकु अस्पतालका निर्देशक डा. राजभण्डारीले परीक्षण कम भएकाले सबै संक्रमितहरु अस्पतालसम्म पुग्न नसकेको बताए। उनले परीक्षण बढाउँदा केस पनि बढ्नसक्ने र त्यसपछि कोरोनाको अवस्था र प्रभावबारे स्पष्ट दृश्य देखिने बताए।
पछिल्लो समय परीक्षणलाई तीव्रता दिएसँगै संक्रमितको संख्या वृद्धि भएको छ। मंगलबारसम्म १८ हजार ९ सय जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। जनस्वास्थविद् डा. रवीन्द्र पाण्डेले सही स्थिति पत्ता लगाउन एकैचोटी धेरै परीक्षण गर्नुपर्ने बताए।
‘परीक्षणको दायरा एकदमै कम भयो। यसले हामी अहिले कहाँनिर छौं भन्ने थाहा हुँदैन,’ डा. पाण्डेले भने, ‘काठमाडौं, विराटनगर, पोखरा, वुटबल जस्ता ठूला सहर तथा भारतबाट बढी मानिस आउने जिल्लाहरुमा, भारतसँग जोडिएको सीमा क्षेत्रमा एकैचोटी ५० हजारको पीसीआर परीक्षण गरे स्पष्ट अवस्था थाहा हुन्छ।’
२) उमेरको प्रभाव
विश्वभर बढी उमेरका मानिसहरुलाई कडा खालको संक्रमण देखिएको छ। साथै उमेर बढ्दै जाँदा मृत्युदर पनि बढ्दै गएको देखिन्छ। युवाहरुमा विश्वभर नै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या कम छ। नेपालमा धेरैजसो संक्रमित युवा भएकाले गम्भीर लक्षण नदेखिएको हुनसक्ने अर्का जनस्वास्थ्यविद् समीरमणि दीक्षितको भनाइ छ।
‘विश्वभर कोरोनाको संक्रमण पाको उमेरका मानिसहरुका कडा रुपमा देखिएको छ,’ उनले भने, ‘नेपालमा ७० वर्ष उमेर कटेका जनसंख्या कम र संक्रमण पनि कमलाई देखिएकाले लक्षण कडा रुपमा नदेखिएको हुनसक्छ।’
स्वास्थ्य मन्त्रालयको सोमबारसम्मको स्थिति प्रतिवेदनअनुसार नेपालमा ०–१४ उमेर समूहका १२, १५–३० वर्षसम्मका ४३, ३१–४५ उमेर समूहका ३८, ४६–६० उमेर समूहका १८ र ६० वर्षमाथिका १० जनामा संक्रमण देखिएको छ।
३) जीवनशैली
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालस्थित क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले नेपालीहरुले जीवनशैलीका कारण पनि कोरोनाको प्रभाव कम परेको हुनसक्ने बताउँछन्।
‘हामी नेपाली हातले खाना खाने भएकाले खानुअघि र पछि अनिवार्य हात धुने गर्छाैं। तर विदेशी खाना खान चम्चा र काँटा वा चपिस्टिक आदि प्रयोग गर्छन्,’ उनले भने, ‘हामी भाँडा माझ्न, लुगा धुन बढी हातकै प्रयोग गर्छौं र प्रशस्त मात्रामा साबुन–पानी खेलाउँछौं। यसले कतै न कतै कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने काम गरेको हुनसक्छ।’
४) पहिलेको संक्रमण
जनस्वास्थ्य वैज्ञानिक दीक्षितले यसअघि नै नेपालमा यस भारइसका अन्य प्रकार देखिसकेकाले पनि नेपालीहरुमा भाइरसविरुद्ध लड्ने शक्ति वृद्धि भएको हुनसक्ने बताए।
‘हाम्रोमा कोरोनाको अन्य भाइरसले पहिले संक्रमण गरिसकेको देखिएको छ। पहिले संक्रमण भइसकेको अवस्थामा इम्युनिटी पावर बढेको हुनसक्छ,’ उनले भने, ‘साथै, नेपालमा अनिवार्य प्रयोग गरिने बीसीजी खोपले पनि कुनै भूमिका खेलेको हुनसक्छ।’
पिअर रिभ्यु नगरिएका एउटा अध्ययनले कोरोना संक्रमण र क्षयरोगविरुद्ध दिइने बीसीजी खोपबीच सम्बन्ध हुनसक्ने अनुमान गरेका छन्। यद्यपि, हालसम्म यसको कुनै प्रमाण फेला परिसकेको छैन।

प्रतिक्रिया