समाज


इनिशाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

इनिशाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

नेपालखबर
फागुन ३०, २०८२ शनिबार १६:१७, काठमाडौँ

सुर्खेतकी १६ वर्षीया इनिशा विकको सामुहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौमा प्रदर्शन गरिएको छ। 

शनिबार काठमाडौँको माईतीघर मण्डलमा युवा तथा सामाजिक अभियन्ताहरूले प्रदर्शन गरेका हुन्। उनीहरू ‘इनिशालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर’ लगायतका नारा लेखिएका प्लेटकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन्। 

उनीहरू हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटनामा कडा कारबाहीको ब्यवस्था गर्न माग गरेका छन्। फेरि यस्ता घटना नहुने व्यवस्थाका लागि सरकारलाई दबाब दिन प्रदर्शनमा उत्रिएको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताइन्। 

सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ। 

सुर्खेतको गुर्भाकोट नगरपालिका-६, बडाखोलीकी इनिशा अध्ययनका लागि वीरेन्द्रनगर-१ मा बस्दै आएकी थिइन्। उनी फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका-४ को सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्।

उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर, अस्पताल पुगेको केही समयमै इनिशालाई चिकित्सकले मृत घोषणा गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय, सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। 

इनिशाका आफन्तले हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरूले इनिशाको शव बुझेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad