सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकको न्यायका लागि विद्यार्थीले सोमबार काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
हत्या घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थी, युवा, अधिकारकर्मी तथा सर्वसाधारणले प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘इनिशा विकलाई न्याय दे’, ‘दोषीलाई उम्काउन पाइँदैन’, ‘महिला हिंसा अन्त्य गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। प्रदर्शनपछि भेला भएका प्रदर्शनकारीले हत्या घटनालाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन्।

गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ स्थित सामुदायिक वनमा इनिशा अचेत अवस्थामा भेटिएकी थिइन्। स्थानीय बासिन्दाले उनलाई प्रदेश अस्पताल कालागाउँ पुर्याएका थिए।
अस्पताल पुगेको केही समयमै इनिशालाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मोस्टमार्ट रिपोर्टमा अत्यधिक रक्तश्राव भएर मृत्यु भएको देखिएको छ।

उनका परिवारजनले बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
सुर्खेतको गुर्भाकोट नगरपालिका-६, बडाखोलीकी इनिशा अध्ययनका लागि वीरेन्द्रनगर-१ मा बस्दै आएकी थिइन्। परिवारजनले दोषीलाई कारबाहीको माग गर्दै आएका छन्। उनीहरूले इनिशाको शव बुझेका छैनन्।













Shares

प्रतिक्रिया