समाज


मध्यपूर्वमा रहेका नेपालीको राहतका लागि एनआरएनएद्वारा १ करोडको कोष स्थापना

मध्यपूर्वमा रहेका नेपालीको राहतका लागि एनआरएनएद्वारा १ करोडको कोष स्थापना

नेपालखबर
चैत ४, २०८२ बुधबार १९:५४, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरूले कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरूमा आवद्ध नहुने प्रतिवद्धता जनाएका छन्। 

१२औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधवारको बैठकमा संघका सम्पूर्ण पदाधिकारीले यस्तो प्रतिवद्धता जनाएको संघका अध्यक्ष डा हेमराज शर्माले जानकारी दिएका हुन्। 

अध्यक्ष शर्माकाअनुसार पदाधिकारीहरूले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन्। 

उनले भने, ‘हामी सबै पदाधिकारीले हस्ताक्षरपत्रमा पनि हस्ताक्षर गर्यौं‍। एनआरएनको पदाधिकारीले संघमा आवद्ध रहुन्जेल कुनैपनि राजनीतिक दल वा दलको भ्रातृ संघठनको पदाधिकारी बन्न नपाइने र सामाजिक सञ्जालमार्फत कुनैपनि राजनीतिक  दललाई गाली गलौज, व्यक्तिगत चरित्र  हत्या गर्ने कार्य नगर्ने भनेर प्रतिवद्धता पत्रमा साइन गरेका छौँ। अहिले राजनीतिक दलमा आवद्ध साथीहरूले समेत राजीनामा दिनेगरी प्रतिवद्धता गरेका छौँ ।’

उनले युद्ध प्रभावित मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले तत्काल एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने र सो रकम तुरुन्तै रिलिज गर्ने निर्णय गरेको पनि बताए।

संघका पदाधिकारी तथा सदस्यहरूबाट न्युनतम एक करोड रुपैयाँ संकलन गर्ने र सो विशेष टास्क फोर्सको योजनाअनुसार र मध्यपूर्वमा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गर्ने उनले जानकारी दिए। 

हाल संघमा करिब एक लाख ३० हजार सदस्य रहेको उल्लेख गर्दै प्रत्येक सदस्यबाट कम्तीमा एक डलर संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ। 

अध्यक्ष शर्माले भने, ‘मध्यपूर्वमा जाने गैरआवासीयन नेपाली नागरिको लागि हामीले एक करोड रुपैयाँको कोष स्थापना गरेका छौँ। र आज नै फण्ड रिलिज पनि गरेका छौँ। संघको कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यबाट कम्तिमा पनि एक करोड रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेका छौँ। अहिले युद्धका कारणले मध्यपूर्वमा रहेका नेपालीलाई कसरी सहयोग गर्ने भनेर हामीले एउटा टास्क फोर्स बनाएका छौँ। त्यसले हामीलाई योजना दिइसकेपछि आवश्यकताअनुसार कोषको रकम प्रयोग गर्ने भन्ने निर्णय गरेका छौँ। अहिले संघमा एक लाख ३० हजार सदस्य हुनुहुन्छ। प्रत्येक मेम्बरबाट एक डलर कोषमा जम्मा गर्ने र यो कार्यकालभरी यस कोषलाई ६ करोडको बनाउने निर्णय पनि भयो।’ 

बैठकले सचिवालय व्यवस्थापन लगायतका निर्णय पनि गरेको शर्माले बताए। नवगठित  कार्यसमितिको बैठक शुक्रवारसम्म बस्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad