दुई समुदायबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा शनिबारदेखि जारी गरेको निषेधाज्ञालाई आइतबार पनि निरन्तरता दिएको छ। जिल्ला प्रशासन कार्यालय अगाडि पनि आगो बालेर प्रदर्शन भएपछि निषेधाज्ञाको क्षेत्र थप गरिएको छ।
महाराजगन्ज नगरपालिका–२ वर्गदामा शनिबार भएको झडपपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले शनिबार निषेधाज्ञा लगाएको थियो। महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।
'हिजोको निषेधाज्ञा जारी छ। आज केही क्षेत्रमा थप गरिएको छ', कपिलवस्तका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैमले नेपालखबरसँग भने, 'आइतबार सर्वपक्षीय बैठक पनि बसेको छ। अर्को आदेश नभएसम्म निषेधाज्ञा कायम रहनेछ।'
ईद र नवरात्र पर्व मनाउने क्रममा नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा उत्पन्न विवादले उग्र रूप लिँदा झडप भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो। 'सबै धर्म र संस्कृति मिलेर बसेको समाजमा केही उच्छृङ्खल तत्वले सद्भाव भड्काउने प्रयास गरेका छन्। अहिले अवस्था नियन्त्रणमै छ', प्रमुख जिल्ला अधिकारी गौतमले भने।
झडपमा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी करिब २० जना घाइते भएका छन्। जिल्ला प्रशासनले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलाई सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेको छ।
Shares

प्रतिक्रिया