समाज


‘ट्राफिक नियम मिच्नेको लाइसेन्स खारेज गर्छौं, व्यवहार नसुधार्ने प्रहरीलाई कारबाही हुन्छ’

‘ट्राफिक नियम मिच्नेको लाइसेन्स खारेज गर्छौं, व्यवहार नसुधार्ने प्रहरीलाई कारबाही हुन्छ’

नेपालखबर
चैत १९, २०८२ बिहिबार १९:४८, काठमाडौँ

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने र लापरवाहीपूर्ण तरिकाले सवारी चलाउने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया शुरु गरिएको बताएका छन्।

यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा बोल्दै एसएसपी अधिकारीले पटक–पटक नियम उल्लंघन गर्ने र जरिवाना तिर्न समेत नआउने चालकहरूलाई अब नछोडिने स्पष्ट पारे। एसएसपी अधिकारीले ट्राफिक प्रहरीको पहिलो मिसन नै व्यवहारमा परिवर्तन ल्याउनु रहेको बताए।

उनले प्रहरी पनि समाजकै हिस्सा भएको स्वीकार गर्दै कमी–कमजोरी भए सुधार्दै लैजाने प्रतिज्ञा समेत गरे। उनले राजश्व खातामा गएको रकम ट्राफिक प्रहरीले मिनाहा गर्न नसक्ने भन्दै यसमा स्पष्ट हुन आग्रह गरे। सार्वजनिक यातायातमा १० प्रतिशत खराब आचरण भएका मजदुरका कारण ९० प्रतिशत राम्रा मजदुरहरू बद्नाम भइरहेको एसएसपी अधिकारीको भनाइ छ। 

उनल भने, ‘यदि कुनै ट्राफिक प्रहरीले अपारदर्शी ढंगले काम गर्छ वा नराम्रो व्यवहार गर्छ भने मलाई सिधै जानकारी दिनुस्, हामी तत्काल एक्शन लिन्छौँ। कसैलाई पनि पेशागत मर्यादा बाहिर गएर व्यवहार गर्ने छुट छैन। शरीरभरि मुन्द्रा लगाउने, कपाल ठाडो पार्ने र अभद्र पोशाक लगाउने चालक–सहचालकका कारण यात्रुहरू डराउने अवस्था छ। आफ्नो चालक र सहचालकको हुलिया र गेट–अप चेन्ज गर्नुस्। हामी उनीहरूलाई तालिम दिन तयार छौँ।’

यातायात क्षेत्रमा रहेको ‘ठेक्का प्रणाली’ (दिनको निश्चित रकम बुझाउनुपर्ने नियम) का कारण चालकहरूले तिब्र गतिमा गाडी कुदाउने र लुछाचुँडी गर्ने गरेको उनले औँल्याए। यसको सट्टा ई–टिकटिङ र अनलाइन सिस्टममा जान व्यवसायीहरूलाई उनले आग्रह गरे।

बिहानै स्कुल बस र सार्वजनिक सवारीका चालकहरू मादक पदार्थ (मापसे) र लागु पदार्थ (लापसे) सेवन गरेर चलाइरहेको भेटिएको भन्दै ट्राफिक प्रहरी यसमा निकै कठोर हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad