समाज


सुदूरपश्चिममा मात्रै नेपाल–भारत सीमाका ८४ स्थानमा सशस्त्र प्रहरी, तैपनि रोकिएन अवैध प्रवेश

सुदूरपश्चिममा मात्रै नेपाल–भारत सीमाका ८४ स्थानमा सशस्त्र प्रहरी, तैपनि रोकिएन अवैध प्रवेश

विनोदसिंह विष्ट
जेठ ३, २०७७ शनिबार ६:२२,

भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो।

सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका पाँच जिल्लाका ८४ ठाउँमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ।

जसमा सबैभन्दा बढी कैलालीमा ४२, कञ्चनपुरमा २४, दार्चुलामा नौ, बैतडीमा पाँच र डडेल्धुरामा चार स्थानमा पोस्ट स्थापना गरिएका सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी अत्तरिया कैलालीले जनाएको छ।

भारतबाट अवैधरुपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बीओपी, र गुल्म स्थापना गरिएका वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बताए। बैतडीसहित सुदूरपश्चिमका सीमा क्षेत्रमा एक हजार ४०० सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ।

अवैध नेपाल प्रवेश रोकिएन
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिले अवैध नेपाल प्रवेशमा कमी आएको दाबी सशस्त्र प्रहरीको भए पनि उनीहरुको आँखा छलेर नेपाल प्रवेश गर्ने क्रम भने अझै रोकिएको छैन।

अवैधरूपमा नेपाल प्रवेश गर्ने क्रम नरोकिँदा संक्रमणको जोखिम पनि बढ्दै गएको छ। लकडाउनको समयमा हालसम्म १०० भन्दा बढी नेपाली नागरिक महाकाली नदी तरेर नेपाल भित्रिएका छन्। बैतडी र दार्चुलामा गरी उक्त सङ्ख्यामा स्वदेश भित्रिएका हुन्।

महाकाली नदीमा ट्युबमार्फत बैतडीमा ४० जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। सीमा सिल रहेका बेला सुरक्षाकर्मीको आँखा छलेर उनीहरु नेपाल आएका हुन्। उनीहरु सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने गरिएको उनले बताए। भारतमा लकडाउन खुकुलो भएपछि अवैधरूपमा नेपाल भित्रिने क्रम बढेको हो।

दार्चुलामा पनि लकडाउनका समयमा महाकाली नदी तरेर ७० जना भित्रिएको तथ्यांक रहेको छ। उनीहरुमध्ये कोही महाकालीमा पौडिएर, कोही तुहिनमार्फत र कोही ट्युबमार्फत स्वदेश भित्रिएका हुन्। स्वदेश फर्कने सबै नेपाली मजदुर रहेको र उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने र कोरोना परीक्षणपश्चात मात्रै घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

बैतडी र दार्चुलासँग सीमा जोडिएको भारतको पिथौरागढ जिल्लालाई भारत सरकारले ग्रिनजोनमा राखेकाले त्यहाँ मजदुरी गर्दै आएका नेपाली स्वदेश भित्रिने क्रम बढेको हो। सुरक्षाकर्मीको आँखा छलेर नेपाल भित्रिने क्रम नरोकिँदा संक्रमणको जोखिम पनि बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीको भनाइ छ।

लकडाउन रहेको समयमा सीमा क्षेत्रबाट हुने वारपार रोक्न बैतडीमा निगरानी समूह गठन गर्न थालिएको छ। कोरोनाको जोखिम हुनसक्ने भएकाले सीमासँग जोडिएका सबै स्थानीय तहले निगरानी समूह गठन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। भारतसँग सीमा जोडिएका जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा निगरानी समूह गठन गरिँदैछन्।

निगरानी समूहले अवैधरूपमा महाकालीबाट स्वदेश नफर्कनका लागि माइकिङ गर्ने, सीमामा खटिएका प्रहरीलाई सहयोग गर्ने, कोही सीमाबाट तरिहालेमा उनीहरुलाई क्वारेन्टिनमा पु¥याउने काममा सहयोग गर्ने जनाएको छ। दशरथचन्द नगरपालिकाले सीमा क्षेत्रका वडामा निगरानी समूह गठनको काम भइरहेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। वडाध्यक्षको अगुवाइ निगरानी समूह गठन गर्ने काम भइरहेको थापाको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad