त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचानक मुटुको धड्कन बन्द हुने समस्याबाट जोगाउन सहयोग गर्ने ‘अटोमेटेड इक्सटर्नल डेफिब्रिलेटर (एईडी)’ स्थापना गरिएको छ।
विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा एईडी स्थापना गरिएको हो। हाप्सा नेपाल र विमानस्थल प्रशासनको समन्वयमा एआईडी स्थापना गरिएको छ।
अहिले विश्वभर नै अचानक मुटुको धड्कन बन्द हुने अवस्था मृत्युको प्रमुख कारणमध्ये बनेको छ। नेपालमा पनि अस्पताल बाहिर हुने यस्ता घटनामा बाँच्ने दर हाल लगभग शून्य रहेको छ।
एआईडीले हृदयको अनियमित धड्कनलाई विद्युतीय झट्का दिई सामान्य बनाउन मद्दत गर्छ। यसलाई सामान्य नागरिकले पनि प्रयोग गर्न सक्ने जनाइएको छ।
यसलाई चलाउन सघाउने निर्देशन र क्युआर कोड पनि समावेश गरिएको छ। जसले आपतकालीन अवस्थामा भिडिओ हेरेर प्रयोग गर्न सकिने हाप्सा नेपालका संस्थापक डा. रामु खरेलले बताए।
‘यो केवल एउटा उपकरण स्थापना गर्ने कुरा होइन, अस्पताल पुग्नुअघि नै जीवन बनाउन सकिने प्रणाली निर्माण गर्ने प्रयास हो,’ डा. खरेलले भने।
देशभर एईडीको पहुँच र तालिम विस्तार गर्ने योजना रहेको हाप्सा नेपालका सीपीआर कार्यक्रम प्रमुख डा. कमल थापाले बताए।
Shares

प्रतिक्रिया