कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिएपछि महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना सिल गरिएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाका मध्यपूर्वी पृतनाका दुई जनामा कोरोना भएको पुष्टि गरेको थियो।
संक्रमित हुनेमा सेनाका एक जना चिकित्सक र अर्का सो पृतनाका पृतनापति अधिकारी रहेको खुलेको छ।
दुई जनामा संक्रमण देखिएपछि ब्यारेक सिल गरी कन्ट्यक्ट ट्रेसिङको काम भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। संक्रमित चिकित्सक कोरोनाको स्वाब संकलन कार्यमा खटिएका थिए।
कोरोना पुष्टि भएपछि शनिबार नै दुबै जनालाई उपचारको लागि काठमाडौं लगेर बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको उनले बताएका छन्।
संक्रमित नेपाली सेनाका चिकित्सक प्रदेश २ का विभिन्न जिल्लाको क्वारेन्टिनहरुमा पुगेर स्वाब संकलनको कार्यमा खेटेको प्रमुख जिल्ला अधिकारी खत्रीको भनाइ छ।
‘कहाँ–कहाँ गएर कति जनाको उहाँले स्वाब संकलन गर्नु भयो भन्ने विवरण अहिलेसम्म खुलेको छैन। हामी त्यही विवरण पत्ता लगाउँदै छौं’, प्रजिअ खत्रीले नेपालखबरसंग भने, ‘‘तत्कालै पृतनालय सिल गरी कन्ट्याक्ट टेसिङको काम भइरहेको छ।’
उनका अनुसार संक्रमित पृतनापतिले चिकित्सकसँग नियमित उठबस, भेटघाट तथा हिँडडुल गर्ने गरेका थिए। दुबैजनालाई कहाँ संक्रमण भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन।
Shares

प्रतिक्रिया