परीक्षणको गतिको तीव्र पारिएपछि प्रदेश २ को ८ वटै जिल्लामा कोरोना संक्रमित बढ्न थालेका छन्।
आइतबार बिहानसम्म देशभर कोरोना संक्रमितको संख्या २ सय ९१ रहेकोमा सबैभन्दा बढी संक्रमित प्रदेश २ का रहेका छन्। रौतहटमा आइतबार बिहान १० जनामा कोरोना पुष्टि भएसंगै प्रदेश २ मा संक्रमितको संख्या १ सय १९ पुगेको हो।
जसमा ८ जिल्लामै सबभन्दा बढी पर्सामा तीन भारतीयसहित ९१ जना रहेका छन्। यस्तै रौतहटमा १३, धनुषामा ५, सर्लाही र बारामा ३÷३ जना, महोत्तरीमा २ जना, सिरहा र सप्तरीमा १÷१ जना संक्रमित रहेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिस्ठ अधिकृत विजय झाले जानकारी दिए।
उनका अनुसार संक्रमित मध्ये १०१ जना पुरुष र १८ जना महिला छन्।
संक्रमितहरुमध्ये वीरगञ्जको नारायणी उपेक्षेत्रीय अस्पतालको आइसोलेसनमा पर्सा, बारा, रौतहट र सर्लाहीका ६३ जना पुरुष र ८ जना महिला गरी ७१ जना उपचार भइरहेको छ। यस्तै वीरगञ्जकै सिद्धार्थ स्कुलमा निर्माण गरिएको आइसोलेसनमा १७ पुरुष र ८ महिला गरी २५ जनाको उपचार भइरहेको बरिष्ट अधिकृत झाले जानकारी दिए।
यस्तै प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा धनुषाका ३ पुरुष र एक महिला, महोत्तरीका २ पुरुष र सर्लाहीकी एक महिला गरी ७ जनाको उपचार भइरहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले जानकारी दिए । उनका अनुसार जनकपुरकै कोरोना संक्रमित १७ वर्षीया युवतीको उपचार काठमाडौंमा भइरहेको छ।
यस्तै सप्तरी र सिरहाका २ जना संक्रमित पुरुषको सगरमाथा अस्पताल राजवीराजको आइसोलेसनमा भइरहेको निर्देशनालयले जनाएको छ।
निर्देशनालयका बरिष्ट अधिकृत झाका अनुसार प्रदेश २ कै संक्रमित दुई महिलाको उपचार काठमाडौंमा भइरहेको र दुईजना महिला उपचार पश्चात निको भएर घर फर्केका छन्।
रौतहटमा आइतबार बिहान भेटिएका १० जना संक्रमित भारतबाट फर्केका
आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० जना भारतको मुम्बइ र गुजरातबाट आएको खुलेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रौतहटका राजपुर नगरपालिका फरहदाका १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्ष उमेर समूह र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय उमेर समुहका पुरुषहरुमा आइतबार बिहान कोरोना संक्रमण भएको पुष्टि गरेको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार भारतबाट फर्केलगत्तै १० जनालाई क्वारेन्टाइनमा राखेर गत शुक्रबार स्वाब संकलन गरेर परिक्षणका लागि काडमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।
भारतको मुम्बई र गुजरात लगातयको ठाउँमा मजदुरी गर्न गएका उनीहरु नेपाल फर्केका थिए।
धनुषामा मुम्बईबाट घर फर्केका दुई पुरुषमा कोरोना
शनिबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेका २० र ६५ वर्षका पुरुष भारतको मुम्बईबाट आएको खुलेको छ। मुम्बईमा मजदुरी गर्न गएका दुबै पुरुष धनुषाको नगराइन नगरपालिका ९ घोरघास छन्।
दुवैजना केही दिनअघि मात्र चोरबाट हुँदै मोटरसाइकलमा घर फर्केका थिएण्। क्वारेन्टिनमा राख्ने डरले दुवैजना चितवनबाट आएको झुटो विवरण प्रहरीलाई दिएका थिए। स्थानीयले जानकारी गराएपछि प्रहरीले दुवैजनालाई धनुषाको नगराइन नगरपालिकाको गंगुली स्थित प्रादेशिक क्वारेन्टिनमा राखिएको क्वारेन्टिनका संयोजक सन्तोष ठाकुरले जानकारी दिए।
केही दिनअघि दुवै जनाको स्वाब संकलन गरी परिक्षण गरिएपछि शनिबार साँझ दवैजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दुबै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा भर्न गरिएको छ। संक्रमित पुरुष अन्दाजी ६५ र ३५ वर्षीय उमेरको रहेको प्रादेशिक अस्पताल जनकपुरका निमिति मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले बताए।
Shares

प्रतिक्रिया