गैरराजनीतिक सामाजिक संस्था तेह्रथुम सरोकार समाज नेपालले आगामी बजेट र तेह्रथुम जिल्लाको विकासका प्राथमिकताहरूका विषयमा एक विशेष अन्तर्क्रिया, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
गत फागुन २१ को निर्वाचनपछि जिल्लाको भविष्यका लागि एकीकृत अवधारणाबारे छलफल गर्न शनिबार काठमाडौँमा आयोजित उक्त कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिहरू, विषय विज्ञ र बौद्धिक व्यक्तित्वहरूको सहभागिता थियो।
एकीकृत विकासका लागि प्रतिबद्धता कार्यक्रमलाई सम्बोधन गर्दै तेह्रथुमबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सन्तोष सुब्बाले आफ्नो निर्वाचन क्षेत्रप्रति गहिरो जिम्मेवारी बोध भएको बताए। नेपाली कांग्रेसबाट निर्वाचित भए तापनि उनले दलीय स्वार्थ भन्दामाथि माथि उठेर कुनै भेदभाव नगरी तेह्रथुम जिल्लाको सर्वाङ्गिण विकासको निम्ति समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।
'आगामी पाँच वर्ष म बिना भेदभाव जनताका सरोकारहरूलाई प्राथमिकता दिँदै जिल्लाको समग्र विकासमा समर्पित हुनेछु,' उनले भने।
भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य र शिक्षा आफ्नो मुख्य प्राथमिकता रहने कुरामा उनले जोड दिए। हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितिको सदस्य समेत रहेका सांसद सुब्बाले यो भूमिका आफ्नो चाहना अनुसारकै भएको र नीतिगत तहमा परिवर्तन ल्याएर तेह्रथुमेली जनताको आर्थिक अवस्था सुधार्न प्रयास गर्ने उल्लेख गरे।
कृषि र पर्यटनमा विज्ञहरूको जोड अन्तर्क्रियामा विज्ञ र सल्लाहकारहरूले आर्थिक समृद्धिका लागि मुख्य क्षेत्रहरू पहिचान गर्दै महत्त्वपूर्ण सुझावहरू दिएका थिए। समाजका मुख्य सल्लाहकार मोहन डाँगीले नेपालीहरूको आर्थिक अवस्था उकास्न जलविद्युत नै प्रमुख माध्यम भएको कुरामा जोड दिए। त्यसैगरी, तेह्रथुम सरोकार समाजका वरिष्ठ सल्लाहकार विजय कुमार सम्बाहाम्फेले जिल्लाको युवा जनशक्ति र अर्थतन्त्रको उज्यालो भविष्यका लागि कृषि-पर्यटनमा केन्द्रित हुन जनप्रतिनिधिहरूलाई आग्रह गरे।

प्राध्यापक डा.बालकृष्ण माबुहाङले नेपालका प्रत्येक पाँच जनामा कृषिमा तीन जना (६२ प्रतिशत) आश्रित रहेको तथ्य औँल्याउँदै कृषि सुधारको बलियो तर्क प्रस्तुत गरे। 'राज्यले किसानमैत्री नीति ल्याउनुपर्छ ताकि लगानीबाट किसानले नाफा कमाउन सकून्,' डा. माबुहाङले भने। उनले छिमेकी मुलुकबाट हुने कृषि आयातमा अस्थायी प्रतिबन्ध लगाएर भए पनि स्थानीय किसानलाई संरक्षण गर्नुपर्ने सुझाव दिए।
यसले उपभोक्तालाई केही महँगो परे तापनि दीर्घकालमा किसान र राज्यकोष दुवैलाई फाइदा पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विष्णुमाया विक र बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला केसीको पनि उपस्थिति थियो। दुवै नेताहरूले तेह्रथुमको समग्र विकास र आगामी बजेटमा जिल्लाका आवश्यकताहरूलाई सम्बोधन गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
निर्वाचन सकिए पनि समृद्ध तेह्रथुम निर्माण गर्ने लक्ष्य सबै सरोकारवालाहरूको साझा मिसन भएको निष्कर्षका साथ कार्यक्रम समापन भएको थियो। धुम्बाराहीस्थित सूर्य इभेन्ट्समा शनिबार आयोजित उक्त कार्यक्रम समाजका अध्यक्ष डिल्लीराम ढुङ्गेलको अध्यक्षतामा भएको थियो। कार्यक्रम सञ्चालन उप-महासचिव वीरेन्द्र कुरुम्वाङले गरेका थिए।
Shares

प्रतिक्रिया