समाज


बाँकेका मृतक युवकमा संक्रमण पुष्टिसँगै नरैनापुर बन्द

बाँकेका मृतक युवकमा संक्रमण पुष्टिसँगै नरैनापुर बन्द

नेपालखबर
जेठ ४, २०७७ आइतबार १२:४५,

क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई आइतबार चारैतिरबाट बन्द गरिएको छ।

सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी अवस्थित नरैनापुरमा संक्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएर नरैनापुर बन्द गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमितको शव व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा गरिने तयारी भएको छ। उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने उल्लेख छ।

ती युवकलाई भारतको मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै धिधै क्वारेन्टिनमा राखिएको थियो। नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टिनमा बस्दै आएका वडा नं ५ निवासी युवकले आइतबार बिहान ४ बजेतिर दुई पटक बान्ता गरेलगत्तै अचानक मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

उनका अनुसार ती युवकसहित भारतबाट नेपाल प्रवेश गरेकाको पीसीआर परीक्षण गर्दा यसअघि नरैनापुर ८ मा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमित आठमध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टिनका थिए। संक्रमितको सम्पर्कमा रहेका आधारमा नरैनापुरका विभिन्न क्वारेन्टिनबाट शनिबार २६३ को स्वाब संकलन गरिएको थियो। संकलित स्वाबको पीसीआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएको थियो।

भेरी अस्पतालको आरटीपीसीआर यन्त्रमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयमार्फत सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले मृत्युको कारण सीसीआर रिपोर्ट पोजिटिभ भएकाले सोहीअनुसार अन्त्येष्टि गरिने बताए। पीसीआर रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारिन्टनमै राखिएको थियो।

क्वारेन्टिनमा मृत्यु भएपछि नरैनापुरका बासिन्दा थप त्रसित बनेका छन्।

उक्त क्वारेन्टिनमा मृतकसँगै अन्य ३८ जनालाई राखिएको थियो। बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का एक, वडा नं. ८ का २४ र नरैनापुरका ८ गरी ३३ कोरोना संक्रमित छन्। तीमध्ये २५ को बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा र आठ जनाको दाङको अस्पतालमा उपचार भइरहेको छ।

भारतबाट आएका नौ क्वारेन्टिनमा
रुकुमपूर्व– भूमे गाउँपालिकामा भारतबाट आएका नौ जनालाई क्वारेन्टाइनमा राखिएको छ। भारतको उत्तर प्रदेशबाट आएका उनीहरुलाई वडा नम्बर ९ को मावि चुनबाङमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए।

बन्दाबन्दीले भारतमा अलपत्र उनीहरु विभिन्न निकायको सहयोगमा गाडी र कुनै ठाउँ हिँडेर नेपालगञ्ज पुगेका थिए। नेपालगञ्जमा उनीहरुको आरडीटीसमेत गरिएको थियो। आरडीटी नेगेटिभ आएका उनीहरु शनिबार मात्र जिल्लामा पुगेका थिए।

जिल्लाका अन्य ठाउँमा निर्माण गरिएका सबै क्वारेन्टाइन भरिएपछि नौ जनालाई गाउँपालिकाबाट टाढा पर्ने वडा नम्बर ९ को चुनबाङमा गाउँपालिकाले पठाएको हो। भारतबाट आएकामा वडा नम्बर ८ का तीन र वडा नम्बर ९ का छ जना रहेको वडाध्यक्ष पुनले बताए।

रुकुमपूर्वमा हालसम्म कसैको पनि पीसीआर परीक्षण गरिएको छैन। आरडीटी गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ। रुकुमपूर्वमा हालसम्म १३२ को आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ। किट अभावकै कारण क्वारेन्टिनमा बसेका अधिकांशलाई आरडीटी नगरेर घर पठाइएको छ। अझै पनि जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा २७ जना रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad