नेपाली सेनाका तालिम केन्द्र सहित विभिन्न १६ स्थानहरूमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिमबाट दुई हजार ४७१ जना सैन्यहरू दीक्षित भएका छन्।
नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित सैन्य आधार तालिमबाट दुई हजार ८७ जना पुरुष तथा ३८४ जना महिला गरी कुल सो संख्यामा सैन्यहरू दीक्षित भएका हुन्।
तालिमको आज (वैशाख ११ गते) समापन गरिएको छ। तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए।
तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रम अन्तर्गत श्री नं १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी प्रदिप जंग केसी र श्री नं २ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक प्रेमबहादुर पुन र विभिन्न पृतना, बाहिनी तथा गण र गुल्महरूमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका ज्येष्ठ अधिकृतहरूले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरे।
विभिन्न स्थानहरूमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको जंगी अड्डाले जनाएको छ।
Shares

प्रतिक्रिया